७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, शास्त्र भन्छ, सुत्न पनि हुन्न ?



मायादेवी अनलाइन, काठमाडौँ ।
आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिनुभयो । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उहाँले बताउनुभयो ।
कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ ।
ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णय सिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० श्रावण २०७५ बिहिबार ००:००  २ : २९ बजे