७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण



मायादेवी अनलाइन, पाल्पा ।
सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानी महल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
सरकारका तर्फबाट पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोककुमारी शाहीले आज काठमाडौंमा रानीमहल हस्तान्तरणसम्बन्धी १० वर्षे समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा गरिएको समझदारीमा महलको व्यवस्थापन, सञ्चालन र मर्मत सम्भार गर्दा सरकारको अनिवार्य स्वीकृति तानसेन नगरपालिकाले लिनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आय आर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गर्नुभयो ।
उहाँले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने पनि स्पष्ट पार्नु भयो । १० वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था पनि गरिएको छ ।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पूरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
विक्रम संवत १९५४ मा खडगशमशेर राणाले रानी तेजकुमारी राणाको सम्झनामा निर्माण गरिएको यो महलको ऐतिहासिक महत्व रही आएको छ । आकर्षक कलाकृतिले सजिएको यो महललाई ‘नेपालको ताजमहल’ को रुपमा पनि चिनिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०७५ बिहिबार ००:००  २ : २४ बजे