११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

देवदह नगरपालिकाको वजेट ६२ करोड ८ लाख ५० हजार



मायादेवी अनलाइन, बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकाले कृषि पर्यटन र खेलकुदलाई मुख्य प्राथमिकतामा राख्दै तेश्रो नगरसभा सम्पन्न गरेको छ । देवदहलाई हरित नगरपालिकाको रुपमा विकास गर्दै जाने पनि निर्णय गरेको छ ।
नगरसभाले आर्थिक वर्ष ०७५र७६ का लागि ६२ करोड ८ लाख ५० हजार बराबरको बजेट विनियोजन गरेको देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले बताउनुभएको छ । नगरसभाले नगरस्तरिय ठूला पूर्वाधारतर्फ ४ करोड ५५ लाख, नगरस्तरिय पवर्द्धनात्मक कार्यक्रमतर्फ १ करोड ४७ लाख विनियोजन गरेको छ ।
यसैगरी पशुसेवा कार्यक्रम तर्फ ८० लाख, कृषि सेवातर्फ ८० लाख, स्वास्थ्यतर्फ ७० लाख, महिला बालवालिका अपाङ्गतर्फ ९ लाख, शिक्षा तर्फ १ करोड, सहकारी तर्फ ७ लाख, चालु खर्चतर्फ ६ करोड ७५ लाख, चालुखर्च वडागत तर्फ ७२ लाख, बजेट बिनियोजन गरेको छ । नगरपालिकाले थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने पनि लक्ष्य लिएको हो ।
विदेशबाट आयात गरिएको बाच्छी मात्रै जन्मीने १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । नगरसभाले नगरसभासंग स्विकृत लिएर मात्र प्लटिङ्ग गर्नुपर्ने र प्लटिङ्गमा २० फुटको बाटो निमार्ण गर्नुपर्ने अन्यथा नगरपालिकाले स्विकृत नदिने निर्णय गरेको छ ।
पूर्वाधार निमार्णमा बढी बजेट विनियोजन गरिएको उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले बताउनुभएको छ । उहाले पहिलो वर्ष सिकाइएको बर्ष भएको र अबका वर्षमा थप योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : ३२ असार २०७५ सोमबार ००:००  २ : ०९ बजे