मायादेवी अनलाइन, रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ र १७ का एक सय १२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । शनिबार मणिग्राममा आयोजित एक कार्यक्रमका बीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, प्रदेश सांसद दधिराम न्यौपाने, नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाण पूर्जा प्रदान गर्नुभयो ।
नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ (क) को किता नं. ८९ र ९८ तथा गंगोलिया ३ (ख) को कित्ता नं. १३२ को गाउँब्लक जग्गाको जग्गाधनीहरुलाई प्रमाण पूर्जा वितरण गरेको हो । यसअघि नापजाँच हुने क्रममा छुटेका स्थानीय बासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाण पूर्जा प्राप्त गरेका हुन् ।
जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । प्रतिबन्धका कारण धेरै समस्या र विकृति बढेको बताउँदै उहाँले आवश्यक नीति निर्माण गरेर कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा मन्त्रालय रहेको प्रष्टाउनुभयो ।
मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएको बरु त्यसले अनेक विकृति बढाएकाले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताउनुभयो । सोही अवसरमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीतिभन्दा बाहिर जान नसक्ने बताउनुभयो ।
भूमि व्यवस्थापनका सन्दर्भमा तिलोत्तमा नगरपालिकाको नेतृत्वले देखाएको तत्परता निकै प्रशंसनीय रहेको बताउँदै उहाँले नेतृत्वको इच्छाशक्तिका कारण आगामी आर्थिक वर्षमा तिलोत्तमामा पुनःनापी हुन थालेको जानकारी दिनुभयो । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको बताउनुभयो । उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा स्थानीय बासिन्दाहरु अत्यन्त खुशी भएका छन् ।
प्रतिक्रिया