८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जिसस कपिलवस्तुको वार्षिक समिक्षा यस्तो छ !



मायादेवी अनलाइन, कपिलवस्तु ।
जिल्ला समन्वय समिति कपिलवस्तुले तौलिहवामा प्रथम बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा सहभागीहरुले जिल्लाको एकिकृत योजना निर्माण गरेर विकासलाई गति दिनुपर्ने बताएका थिए । कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले जनप्रतिनिधीले दुरदुर्शीता राखेर जिल्लाको स्वरुप बदलिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री खनालले कपिलवस्तु जिल्ला अझै पनि धेरै पछाडी परेकोले जिल्लाको स्वरुप बदलिने गरी विकास निर्माणका काममा एकिकृत विकासको योजनामा सवैदलले हातेमाले गरेर जानुपर्ने बताउनुभयो । मन्त्री खनालले स्थानीय तहका आगामी वर्षका योजना र कार्यक्रमबारे लक्षित गर्दै योजनाहरु कपी पेस्ट मात्र नभएर जनप्रतिनिधीले आफनो ठाउँ बदलिने गरी नयाँ र प्रभावकारी योजना छनौट गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा साँसद अत्तहर कमाल मुसलमानले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिक्षेत्रमा पर्याप्त लगानी गरेर सिमान्तकृत समुदायको उत्थानमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश साँसद अर्जुन केसी, धर्मबहादुरलाल श्रीवास्तव, दिर्घनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँ, वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ, विजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापा, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी लगाएतले स्थानीय तह र प्रदेश सरकारको आपसी समन्वयबाट योजना र कार्यक्रमहरु संचालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले जिल्ला समन्वय समितिको भूमिका र अधिकार क्षेत्रको दायरा बढाउनु पर्ने बताउदै स्थानीय तहबीचको आपसी समन्वयलाई अझ प्रभावकारी बनाउन सवै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले चालु आर्थिक वर्षमा संचालन गरेका योजना, समस्या र चुनौतीका विषयमा आ आफनो प्रस्तुती राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका अधिकृत रेशम शर्माले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७५ शुक्रबार ००:००  ३ : १० बजे