८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुबाट गरिब परिचयपत्र वितरण शुरु, अब देशभर वितरण गरिने



मायादेवी अनलाइन, कपिलवस्तु ।
सरकारले पहिलो पटक गरिब परिचयपत्र बितरण कपिलबस्तुबाट शुरु गरेको छ । कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री चक्रपाणि खनालले शुक्रबार एक कार्यक्रमका बीच गरिब घरपरिवार परिचयपत्र वितरण गरेर अभियानको सुरुवात गर्नुभएको छ । मन्त्री खनालले जिल्लाको मायादेवी गाउँपालिकाका ८ घरपरिवारलाई गरिब घर परिवार परिचय पत्र वितरण गर्नुभयो । जिल्लाका १० स्थानीय तहका २८ हजार २ सय ३५ घरधुरीका गरिब घरपरिवारलाई परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खनालले पहिलो चरणमा नेपालका २६ जिल्लामा गरिब घर परिवार परिचयपत्र वितरण अभियान शुरु भैसकेको बताउनुभयो । बाँकी ५१ जिल्लामा २ वर्ष भित्रमा गरिब घर परिवारको पहिचान र वर्गीकरण प्रमाण पत्र वितरण गरिने जानकारी दिनुभयो । सरकारले उपलब्ध गराएको गरिब घर परिवार पहिचानको पत्रबाट विपन्न वर्गको शिक्षा, स्वास्थ्य, कृषि तथा क्षेत्रमा सुविधा प्रदान गर्ने उहाले बताउनुभयो ।
प्रदेश सभा सदस्य सहशराम यादवले गरिवका छोराछोरीले पनि राम्रो शिक्षादिक्षा पाउनु पर्ने भोक भोकै रहनु पर्ने अबस्थाको अन्त्य हुनु पर्ने लगायतका काम यहि सरकारले पुरा गर्नु पर्ने बताउन्ु भयो । । उहाले गरिवलाई परिचयपत्र दिएर सरकारले उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउनुभयो ।
वितरण गरिएको गरिब घर परिवार परिचय पत्र तीन किसिमले बर्गीकरण गरिएको छ । रातो परिचय पत्र अति गरिब, पहेलो मध्यम गरिब र निलो सामान्य गरिबको रुपमा पहिचान गरिएको छ । मायादेवी गाउँपालिका ६ कि कपरा यादवले अति गरिबको प्रमाणपत्र सरकारले उपलब्ध गराएपछि खाद्यान्न, शिक्षामा सहयोग पाउने आशा समेत गर्नुभयो ।
मन्त्री परिषद्को निर्णयबाट नेपालका २६ जिल्लाका ३ लाख ९१ हजार ८ सय ३१ घर परिवारको पहिचान भैसकेको छ । आगामी आर्थिक वर्षको कार्तिक मसान्त सम्म पहिचान भैसकेका २६ जिल्लामा गरिब घर परिवारलाई परिचय–पत्र वितरण गरिने मन्त्रालयका सह सचिव रघुराम विष्टले जानकारी दिनुभयो । सरकारले वितरण गरेको गरिब घरपरिवार पहिचानको परिचय पत्रको आधारमा शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा लक्षित कार्यक्रम संचालन गर्न सहयोग पुग्ने बताइएको छ । सो कार्यक्रम मायादेवी गाँउपालिका अध्यक्ष बजरंगी कुर्मीको अध्यक्षता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ असार २०७५ शुक्रबार ००:००  १२ : ४८ बजे