हरि अधिकारी, कपिलवस्तु ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा वडा स्तरीय स्थानीय सरकार संचालन सम्बन्धी २ दिने तालिम मंगलबारदेखि वाणगंगा नगरपालिका स्थित चारनम्बरमा शुरु भएको छ । तालिममा वाणगंगा नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, महिला तथा दलित सदस्य तथा वडा सचिवको सहभागीता रहेको छ । तालिम उद्घाटन शत्रका अध्यक्ष वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले तालिमले वडा तहबाट हुने कार्यलाई अझ सहज र प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
तालिम उद्घाटन शत्रमा जिल्ला समन्वय समितिका समन्वय अधिकारी जगन्नाथ लामिछानेले जनताको सवैभन्दा नजिकको सरकार वडा कार्यालय भएकाले वडा समिति र वडा सचिवबीचको समन्वय र एकरुपता ल्याउन तालिमले सहयोग पुग्ने बताउनुभयो । तालिममा वडा समितिको काम कर्तब्य र अधिकार, वडाबाट हुने सिफारिस तथा प्रमाणित, योजना तर्जुमा, उपभोक्ता समिति गठन, योजना अनुगमन तथा मूल्याकंन, सुशासन, नेतृत्व विकास, अधिकार बाँडफाँड र सामाजिक परिचालन लगाएतका विषयमा सहजीकरण गरिने तालिम सहजकर्ता जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । तालिममा वडा कार्यालयबाट कार्यसम्पादनका क्रममा आईपरेको व्यवहारिक तथा सैद्धान्तिक समस्याका विषयमा पनि प्रशिक्षण दिइने बताइएको छ । तालिम वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता तथा जिल्ला समन्वय समितिका अधिकृत रेशम शर्माको संचालनमा शुरु भएको कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी लगाएतको आतिथ्यता रहेको थियो ।
यसैबीच यसअघि जिल्ला समन्वय समिति कपिलवस्तुले जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधी तथा प्रमुख प्रशासकीय अधिकृतहरुका लागि योजना तर्जुमा तथा बजेट निर्माण सम्बन्धी तालिम, न्याय समितिका पदाधिकारीलाई तालिम, सार्वजनिक खरिद तथा वित्त व्यवस्थापन र एकिकृत सम्पत्ती कर सम्बन्धी तालिम अभिमुखीकरण गरीसकेको जिल्ला समन्वय समिति कपिलवस्तुका अधिकारी जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । तालिम अभिमुखीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रोतव्यक्ति, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिवक्ता लगाएतका स्थानीय सहजकर्ताले सहजीकरण गर्नुभएको थियो ।
२६ असार २०७५ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया