७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

दाङमा खोलाले बस बगायो, सवारी साधन सञ्चालनमा रोक



नारायण खड्का, दाङ ।
दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजीवन प्रभावित भएको छ। बाढीका कारण तुलसीपुर– घोराही– लमही सडक खण्डमा पर्ने खहरे खोलामा पानीको बहाव ह्वात्तै बढेपछि कुनै पनि खालका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।
तुलसीपुर– घोराही सडक खण्डको गुर्जे खोलामा आएको बाढीका कारण सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए ।
त्यस्तै, घोराही–लमही सडकखण्डमा सवारीका साधन बाढीले गर्दा सञ्चालनमा आउन नसकेको दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।
खोलामुनि कजवे निर्माण गरिनु र निर्माणाधीन पुलको काममा ढिलाइ हुनु तथा उचित डाइभर्सन निर्माण नगर्दा वर्षौंदेखि दाङबासीले वर्षातमा जोखिमयुक्त यात्रा गर्नु परेको छ। त्यस्तै, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बाढीका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको जानकारी दिए । उनले बबई गाउँपालिका वडा नं. ५ स्थित ट्वाँङखोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको बताए ।
ट्वाङ खोलाको बाढीले बस बगाएको भए पनि मानवीय क्षति भने हुन नपाएको र यात्रु तथा गाडीका चालकहरूको उद्धार गरिएको प्रमुख चौधरीले बताए । बगाले भन्ने स्थानदेखि तुलसीपुरतर्फ आउँदै गरेको उक्त बस सोमबार बिहान साढे ७ बजेतिर ट्वाँङ खोलाले बगाएको चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ९ : ३५ बजे