७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बर्षाको कहर, दाङ, बाँके र बर्दियाका बिभिन्न ठाउँ डुबानमा



मायादेवी अनलाइन ।
लगातार परिरहेको पानीका कारण दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँ डुबानमा परेका छन् । वीरगंज लगायतका अरु केही ठाउँ पनि जलमग्न भएका छन् ।
दाङको देउखुरी उपत्यका जलमग्न
दाङका उज्यालो सहकर्मी हेमराज शर्माका अनुसार वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न भएको छ । पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा लमही—तुल्सीपुरको यातायात सेवा प्रभावित भएको छ । दाङको बबइखोला, कटुवाखोला, गुर्जेखोला, पत्रेखोला ग्वारखोलामा बाढी आएका कारण गाडी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।
बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नं. ६ खैरी निवासी सुदन खनालले वताउनुभयो । ‘घरहरुमा पानी पसेको छ’उहाले भन्नुभयोे–‘घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको छ ।’
राप्ती, बबई र अरु नदी तथा खोलाका कारण ठाउँठाउँमा डुबानको खतरा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ । त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान सहित उच्च सतर्कता अपनाईएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभयो ।
‘बाढीको उच्च जोखिम क्षेत्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, बवई गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको तीन दर्जन वडाहरुलाई तोकिएको छ’ उहाले भन्नुभयो– बाढीको मध्यम जोखिम क्षेत्रहरुमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकाका नदी आसपासका वडाहरुलाई तोकिएको छ ।’
जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामाग्री सहित एकरएक वटा रवर बोट र खोज उद्धार टोली तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । साथै पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाईतोकिएको सुचना व्यवस्थापन अधिकृत दाहालले जानकारी दिनुभयो ।
पहिरोको मध्यम जोखिम क्षेत्रकारुपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुुली गाउँपालिका वडा नम्बर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्बर ९ रहेका छन् । दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरु राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरुलाई प्रभावित बनाउने देखिएको छ ।
४ वटा स्थानीय तहका अधिकांश वडाहरुमा बाढी पस्यो भने एक हजार घरधुरी प्रभावित हुनेछन् भने ५ हजार जनसंख्यालाई असर पर्ने देखिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।
बर्दियाका ठाउँ ठाउँमा डुबान
उज्यालो सहकर्मी भावुक योगीका अनुसार लगातार परेको पानीका कारण वर्दियाका ठाउँ ठाउँमा घर डुबानमा परेको छ । वर्दियाको मधुवन नगरपालिका ५ र शुक्रवस्तीका ३४ घर डुबानमा परेको छ । स्थानीय खोलानालामा आएको बाढी र वर्षाका कारण त्यहाँका घर डुबानमा परेको मेयर गणेश केसीले बताउनुभयो । डुबान प्रभावितहरुलाई स्थानीय मधुवन शुक्रमाविमा राखिएको छ ।
प्रभावितलाई चाउचाउ लगायतका खानेकुरा वितरण गरिएको छ । नगरपालिका र प्रहरीले संयुक्त रुपमा विस्थापितको उद्दार गरेका हुन् । वर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढीलगायतका ठाउँमा पनि बाढीले घर डुबानमा परेका छन् ।
नेपालगञ्ज जलमग्न
बाँकेका उज्यालो सहकर्मी गोविन्द शर्माका अनुसार १२ घण्टादेखिको अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन्। न्यूरोड, बेलासपुर, बसपार्क रोडलगायतका ठाउँ पानीले डुबेका छन् ।
सडक जलमग्न भएका कारण मानिसलाई हिँडडुल गर्न कठिनाई भएको छ । एडीबीकोे सहयोगमा निर्माणाधीन सडक तथा ढल निर्माण कार्य भैरहेको हुँदा सडक झनै जलमग्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँँकेका एसपी टेकबहादुर तामाङले राप्ती नदीमा पानीको सतह सामान्य रहेको जानकारी दिनुुभयो ।

-उज्यालो अनलाइन

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ७ : ३९ बजे