५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

हलोले खेत जोत्ने दिन गए : मन्त्री खनाल



दिपक अनुरागी, कपिलवस्तु ।
आज भन्दा २६ सय बर्ष पहिलेको धान रोपाइ कपिलवस्तुमा स्मरण गरिएको छ । शाक्यवंशीय राजधानी कपिलवस्तुमा २६ सय वर्ष अघि देखि नै राजा शुद्धोदनले राजकीय धान रोपाइँ मंगलोत्सव धुमधामले मनाउँथे गर्थे । त्यहि दिनको स्मरण स्वरुप राष्ट्रिय धान दिवसको अवसर पारेर तिलौराकोटको दरबार नजिक रहेको ऐतिहासिक स्थल कन्थक स्पुत छेउ चार कठ्ठामा धान रोपेर धान दिवस मनाइएको हो । उक्त अवसरमा कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल पनि सरिक हुनुभएको थियो । मन्त्री खनाल संगै जिल्ला स्थित प्रतिनिधि, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख लगायत सयौ सर्वसाधारणको सहभागीता रहेको थियो । मन्त्री खनालले झण्डै २० मिनेट धान रोप्नुभयो भने ५ मिनेट हलो जोत्नुभएको थियो ।
लुम्बिनी विकास कोष कपिलवस्तु शाखाले दिवसको आयोजना गरेको हो । धान रोपाई पछि भएको कार्यक्रममा बोल्दै कृषि मन्त्री खनालले अब गोरुले जोतेर धान रोप्ने दिन गएको बताउनुभयो । धान परम्परागत शैलीमा रोप्न नहुने बताउँदै उहाँले भन्नुभयो, ‘मानवीय दृष्टिले पनि गोरुद्धारा धान रोप्नु राम्रो होइन अब यसको अन्त्य गर्नुपर्छ’ । नेपालको खेती प्रणाली परम्परागत शैलीको भएकोले यसको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसका लागि सरकारले खेतीलाई आधुनिकरण, यान्त्रिकरण र व्यवसायिकता तर्फ लैजान प्रयास गरिरहेको बताउनुभयो ।
प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटमा राजा शुद्धोधनले सुनको हलोले जोती धान रोपाइँ सुरु गरेको स्मरणमा मन्त्री खनालले पनि सुन जस्तो देखिन हलोको प्रयोग गरि खेत जोत्नुभएको हो । सो अवसरमा पञ्चेबाजा, थारु लाठी नाच, अहिरौवा नाच तथा विभिन्न जातजातिका झाँकी, नाचगान एंव नृत्य प्रस्तुत गरिएको थियो । दिवसको अवसरमा मन्त्री खनाल जिल्लाका आधा दर्जन कार्यक्रममा सरिक हुनुभएको थियो । जिल्लामा कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर मध्ये झन्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान रोपिने गर्दछ भने ३५ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा रहेको छ । जिल्लामा अहिले १५ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७५ शुक्रबार ००:००  ३ : २३ बजे