१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

केही बर्ष भित्र मुलुकको गरिबी दन्ते कथा : प्रधानमन्त्री ओली



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही बर्ष भित्र गरिबीलाई दन्ते कथा बन्ने अबस्थामा मुलुकलाई पुर्याउने बताउनुभएको छ । प्रधानमन्त्रीको, राष्ट्रपति उपराष्ट्रपति, राष्ट्रिय योजना आयोग लगायतमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिदै उहाँले सरकारले गरिबीको अन्त्य गरेरै छाड्ने बताउनुभएको हो । नया जनादेश अनुसार जनताका आकांक्षा पुरा गर्नका लागि नया ढंगले काम गर्न सरकारले विभिन्न निकायलाई सोही अनुसार व्यवस्थित गरेकाले केही समय भित्र त्यसको प्रभाव देखिने उहाँले बताउनुभयो । उहाँले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि विभिन्न विभागहरुलाई प्रधामन्त्री कार्यालय मातहत ल्याईएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

सरकार नया बाटो हिड्न लागेकाले केहीलाई अनौठो लाग्नु स्वभाविक भएको भन्दै उहाँले भन्नुभयो “नया अभ्यासमा देश जादा नया संरचना गर्दा नया ढंगले मुलुकलाई ड्राईभ गर्नुपर्छ त्यतै तिर जान लाग्या हो । ”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केटा केटीलाई हाउगुजी देखाएजस्तो गरि लोकन्त्र जान्छ भनेर जनतामा भ्रम र आशंका फैलाउने काम गरेको भन्दै उहाँले त्यस किसिमको भ्रमात्मक प्रचार उपयुक्त नभएको प्रतिक्रिया दिनुभयो । उहाँले अधिनायकवाद आउँछ र लोकतन्त्र जान्छ भन्ने विषयलाई कांग्रेसले चैनेकेरे र माने भन्ने जस्तो थेगो को विषय बनाएर भ्रम र आंशका फैलाउने काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “२०३६ सालको जनतन्त्र संग्रहताका केटा केटी रोए भने चुप लाग चुप लाग जनमतसंग्रह भाँडिन्छ, भन्थे ।”

प्रधानमन्त्रीले लोकतन्त्र कसैले किस्तिमा सजाएर दिएको वा अरुको पसिनाले आर्जेको नभई आफुहरुको ठुलो मेहनत रहेकाले सरकार लोकतन्त्रप्रति प्रद्धिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? कहाँ बाट? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले पन्छाउन सक्छ ? ”

उहाँले सरकारले ठीक बाटो लिएको भन्दै प्रतिपक्षी दललाई आश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले योजना आयोगका काम प्रभावकारी नदेखिएर प्रभावकारी देखाउन पुर्नगठन गरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले समय तोकेर काम नगर्ने ठेकेदारले बढी समय लगाए वापत हर्जना सम्म तिर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार बढ्दै गएको भन्ने सांसदहरुको अभिव्यक्तिलाई उहाँले टङ सिलिप को संज्ञा दिदै सरकार भ्रष्टाचार निर्मुल गर्न प्रतिवद्ध रहेको जनाउनुभयो ।

उहाँले आन्तरिक स्रोत र आन्तरिक पूँजीको परिचालनमा जोड दिएको भएपनि ठुला आयोजनामा बैदेशिक सहायता र लगानी अत्यावश्यक रहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै कानुन आश्विन ३ भित्र ल्याईसक्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।

नेपाल र भारतको संयुक्त टिमले डुबान क्षेत्रहरुमा डुबान खोल्न संयुक्त सर्वे गरिरहेको भन्दै उहाँले तराईको बाढी नियन्त्रण, भुकम्प पीडीतको उद्धार र बसोबास लगायत विषयमा सरकार संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।

अधिकारको प्रयोग विधि पुर्वक र कानुनसम्मत गर्नुपर्ने भन्दै निषेधित क्षेत्र भनेको वाक स्वतन्त्र रोक्नका लागि नभएको स्पष्ट पार्नुभयो । विरोध प्रर्दशनका लागि बाहिर पनि निश्चित स्थान तोकिने गरेको दृष्टान्त दिदै उहाँले भन्दै उहाँले तानाशाही ढाल्नका लागि त दरबार भित्र पसेर पनि कब्जा गर्न सकिने तर लोकतन्त्रमा सबै बाटा खुल्ला भएकाले त्यसो गर्न नपर्ने बताउनुभयो । “वाक स्वतन्त्रतामा किन्चित लगाम लाग्दैन । स्वतन्त्रताका हकहरुमा नियन्त्रण हुदैन तर तीनमा थिति हुनुपर्छ ।”उहाँले अत्यावश्यक क्षेत्रमा भएको विरोधलाई टुलुटुलु हरेर लाचार छाया भएर सरकार बस्न नसक्ने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारे केही महत्वपुर्ण क्षेत्रमा जनता भेला हुन नपाउने भनि निषेधित क्षेत्र तोकिएको बारे जिज्ञासा राख्नुभएको थियो ।

पुर्ववर्ति सरकारका निर्णय कार्यान्वयनका सम्बन्धमा भने प्रधानमन्त्री ओलीले अखबारमा मात्रै ल्याएर चुनाबी प्रचार गरेकाले चुनाबी प्रचारका काम सरकारले कार्यान्वय नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले महिला हिंसा प्रति सचेत र गम्भीर रहेको भन्दै महिला हिंसा प्रति शुन्य सहनशिलता राख्ने स्पष्ट पार्नुभयो ।

सांसदहरुले पुर्ववर्ती सरकारले गरेको निर्णयको निरन्तरता, भुकम्प प्रभावितलाई दिने भनिएको राहत, बाढी नियन्त्रण, तथा विभिन्न विभागहरुलाई प्रधानमन्त्री मातहत ल्याईएको विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १५ असार २०७५ शुक्रबार ००:००  ८ : १५ बजे