१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी



झापा । झापाको मेचीनगरमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् ।

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर –१४, दुवागडीका प्रेम किशान दर्र्जी, उनकी पत्नी सुशीला दर्जी, उनका दुई छोराहरुसहित ज्वाइँ प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामी परेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भैरहेको छ ।

यसैबीच विषाक्त खानेकुरा खाँदा दक्षिणी झापाको कचनकवल गाँउपालिकामा एकै गाउँका तीन बालबालिकासहित नौ जना बिरामी परेका छन् ।

खेताला गएका उनीहरूले बिहीबार दिउँसो आलु, सोयाबिनको तरकारी र मटरको अचारसँग खाना खाएका थिए । बिरामी पर्नेमा कचनकवल –७, बालुवाडी निवासी २८ वर्षीया शर्मिला तामाङ, २४ वर्षीया मञ्जु राई, ३५ वर्षीय राजा तामाङ, २८ वर्षीय अञ्जन राई, ३२ वर्षीय सीता तामाङ र २६ वर्षीय दिलु लिम्बू रहेका छन् । बिरामि परेका उनीहरूको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भैरहेको वडा प्रहरी कार्यालय भद्रपुरका निरीक्षक प्रकाश जगेवूले जानकारी दिनुभयो ।

त्यस्तै सात वर्षीय उदय राजवंशी, आठ वर्षीय जयप्रकाश राजवंशी र १० वर्षीय विक्रम राजवंशी भने उपचारपछि बिहीबार नै घर फर्किएका थिए । स्थानीय पदमबहादुर तामाङको खेतमा खाना खाएसँग उल्टी आउने, रिंगटा लाग्ने, टाउको र शरीर दुख्ने भएपछि सबैलाई उपचारका लगिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७५ शुक्रबार ००:००  ७ : १३ बजे