१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

खाद्यान्नमा उपभोक्तालाई सचेत पारिदै



पार्वती पाण्डे, कपिलवस्तु ।
कुनै पनि खाद्यान्नमा नठगिन र जोगिनका लागि आइतबार ४ नं जितपुरमा उपभोक्ताहरुलाई सचेत पारिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहिको आयोजना एवं वाणगंगा नगरपालिका वडा नं ४ समितिको कार्यालय कपिलवस्तुको समन्वयमा उपभोक्ताहरुलाई खाद्यान्नका बारेमा सचेत गरिएको हो । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले खाद्यान्नको बारेमा सबै नागरिक सचेत हुनु पर्ने र कोहि पनि ठगिन नहुने बताउनु भयो । उपभोक्ताहरु सचेत भएमा मात्र खाद्यान्न मिसावटमा कमि आउने उहाँले प्रष्टयाउनु भयो ।
कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अधिकृत विक्रम लिम्बु, प्राविधिकहरु गौरी हमाल, शिखर आचार्य लगायतले खाद्यवस्तुमा हुने मिसावट र जोगिने उपायका बारेमा जानकारी गराउनु भएको थियो । उपभोक्ताहरु ठगिएमा कार्यालयमा उजुरी गर्न समेत उहाँहरुले सबैमा आग्रह गर्नु भएको थियो । उपस्थित उपभोक्ताहरुले सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नु पर्ने बताएका थिए । खाद्यान्न, लत्ताकपडा लगायतका उपभोग्य वस्तुहरुमा उपभोक्ताहरु ठगिने गरेको र सम्बन्धित निकायले ध्यान नदिएको उपभोक्ताहरुको गुनासो थियो । कार्यक्रममा वडा सदस्य इन्दीरा पन्तले उपभोक्ता भेला प्रचार कार्यक्रम प्रभावकारी भएको वताउनु भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ४ : १० बजे