११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

भारतीय पक्षबाट निर्माण भइरहेका सडकले दक्षिण क्षेत्र डुबानमा पर्ने खतरा



रासस, बुटवल ।
बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षबाट निर्माण भइरहेका सडकले त्यहाँको दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेश नं ५ प्रदेशसभाको आइतबारको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सीमामा निर्माणसम्बन्धी काम दुई पक्षीय समन्वयमा हुनुपर्नेमा जोड दिनुभयो । यो संघीय सरकारसंग जोडिएको विषय भएकाले आवश्यक तथ्यांक संकलन गरी पत्राचार गरिने जानकारी सदनलाई दिनुभयो । यस्तै बैठकले प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको विद्येयक तथा प्रदेश नं ५ को प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सो नियमावली पारित भएको हो ।यस्तै प्रदेश आर्थिक विधेयक २०७५ माथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्यले प्रगतिशील करको अवधारणाका रुपमा विधेयक आएको बताउनुभयो ।
प्रदेशसभा सदस्य रेवतीरमण शर्माले करको दर तथा राजश्व संकलनका विषयमा विधेयकले सम्बोधन गरेको र प्रगतिशील कर अवधारणा ल्याएको बताउनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रक्रियामा हामी सिक्दै जाने चरणमा भएको हुँदा काम गर्ने विधि कार्यान्वयन हुँदै जाने बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५) माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
त्यस्तै लुम्बिनीको पृष्ठभूमिमा रुकुमको पूथा हिमालदेखि मर्चवारसम्म धानको बाला, विभिन्न वेशभूषा देखिने आकृतिको लोगो सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्यहरुलाई वितरण गर्नुभयो ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ४ : ०८ बजे