१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शिवराजको बजेट ६८ करोड ९७ लाख बढी



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाले ६८ करोड ९७ लाख ५२ हजारको बजेट प्रस्तुत गरेको छ । जिल्लाको चन्द्रौटामा सम्पन्न तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५÷०७६ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख शिवकुमारी थारुले सो बजेट विनियोजन भएको बताइन् ।
कूल बिनियोजित रकममध्ये चालुतर्फ ६ करोड र पूँजीगततर्फ ६२ करोड ९७ लाख ५२ हजार रकम विनियोजन गरेको उपप्रमुख थारुले जानकारी गराइन् । शिवराजले नगरसभाबाट सबैभन्दा बढी शिक्षामा १८ करोड ४२ लाख ५३ हजार बिनियोजन गरेको छ । नगरस्तरीय योजनाका लागि शिवराजले ९ करोड ९९ लाख र वडास्तरीय योजनामा ४ करोड ७ लाख बिनियोजन गरेको छ । सडक कालोपत्रेमा ३ करोड ९२ लाख छ भने सामाजिक सुरक्षा भत्तामा १२ करोड रकम बिनियोजन भएको नगरसभामा उपप्रमुख थारुले जानकारी गराइन् ।
नगरपालिकाको नीति तथा कार्यक्रममा आर्थिक विकास अन्तर्गत कृषि, पशु, पर्यटन, सहकारीको विकास प्रवद्र्धनमा विशेष जोड दिएको छ । सामाजिक विकास नीति अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति पबद्र्धन र खेलकूद तथा मनोरञ्जनलाई प्राथमिकतामा राखेको छ । शिवराज नगरपालिकालाई बालविवाह मुक्त बनाउन अभियान संचालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिकाले गरेको कामहरु घरमै बसेर हेर्न मिल्ने गरी मोबाइल एप्सको शुरुवात गरिने नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिएका छन् ।
यसका साथै गुनासो सुनुवाई व्यवस्थालाई प्रभावकारी बनाउन निःशुल्क टोल फ्रि नम्बरको शुरुवात गरिने नगरप्रमुख अधिकारीको भनाई छ । योजना पूर्वाधार र संरचना विकास नीति अन्तर्गत शिवराज रिङरोडको अवधारणा, मेयर नमूना सडकलाई निरन्तरता दिने, बजारक्षेत्रमा सडक बत्तीको व्यवस्थापन तथा चन्द्रौटा बजारलाई नमूना बजारको रुपमा विकास गरिने नगरप्रमुख अधिकारीको प्रतिबद्धता छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आगामी साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लागू गरिने र सबैभन्दा धेरैकर दाखिा गर्ने करदातालाई उत्कृष्ट करदाताको रुपमा पुरस्कृत गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगरसभाको अवसरमा गत वर्षको बजेट, नीति तथा कार्यक्रमबारे समिक्षा गरिएको छ । गत आर्थिक वर्ष २०७४।०७५ मो कूल ७० करोड ७ लाखको बजेट बिनियोजन भएकोमा जेठ मसान्तसम्म ८० प्रतिशत काम सम्पन्न भएको नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिए । शिवराज रिङ्गरोडको परिकल्पना गरेको नगरापालिकाका सबै वडामा सडक निर्माणको अन्तिम चरणमा रहेको नगरप्रमुख अधिकारीले बताए । नगरपालिकाले मेयर नमूना सडक नमूना बनेको दाबी गरेको छ । दुई वटा खोलामा पक्की पुलको लागि डीपीआर सम्पन्न भएको नगरपालिकाले जनाएको छ । शिवराज नगरपालिकाले गतवर्ष शिवगढी, शिवपुर र जवाभारीलाई पूर्ण खोप वडा घोषणा गरेको छ । यस्तै शिवगढी स्वास्थ्य चौकीर र चनई स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरेको छ ।भने वडा नं. ९लाई पूर्ण साक्षर घोषणा गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ३ : २९ बजे