१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

इलाका प्रशासन वाणगंगाद्धारा आस्था सुधार केन्द्रको अनुगमन



पार्वती पाण्डे, कपिलवस्तु ।
इलाका प्रशासन कार्यालय वाणगंगा कपिलवस्तुले शुक्रवार वैरीयामा रहेको आस्था सुधार केन्द्रमा गई त्यहाको अवस्थाको वारेमा निरिक्षण एवं अनुगमन गरेको छ । अनुगमनका क्रममा सुधार केन्द्रमा दुव्र्यसनीमा परेका १५ जना पुरुषहरु रहेको पाइएको छ । जसमा ४ जना पुरुषहरु ३ महिना उपचार भई सुधार केन्द्रकै रेखदेखमा घर जाने आउने गरेको सुधार केन्द्रका परामर्शदाता दृष्टिराना मगरले जानकारी दिए । बाँकी ११ जनालाई सुधार गृहमै राखेर उनीहरुको आनीबानीमा सुधार ल्याउन प्रयत्न गरिरहेको बताए । गृहमा लागु औषध, मदिरा सेवन गरिरहने र उनीहरुलाई अभिभावकले सुधार गर्न पठाए पछि मात्र आफुहरुले गृहमा राख्ने गरेको उनले जानकारी दिए । कपिलवस्तु , रुपन्देहि र अर्घखाँचीका दुव्र्यसनीमा परेका १६ देखि ५५ वर्ष सम्मका पुरुषहरु सुधारकेन्द्रमा आउने गरेका छन ।
२०६५ सालमा स्थापना भएको यस गृहमा करिब ४ सय जना पुरुषहरु उपचार भैसकेपछि फर्किएको बताइएको थियो । सुधारका लागि आउने १ व्यक्ति सँग कम्तिमा मासिक १५ हजार लिएको र कतिपयको आर्थिक अवस्था न्युन भएका कारण नलिने गरेको समेत बताइएको थियो । इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विक्रम शर्माले अनुगमनको पाटोलाई विशेष योजनाका साथ लैजाने बताए । उनले सुधार केन्द्रलाई अझै व्यवस्थित गरेर लैजान सुझाएका थिए ।
आगामी दिनमा राजमार्ग क्षेत्रका नगरपालिकाहरुमा अनुगमनलाई प्रभावकारी बनाउने उनले बताए । कुनै पनि चिजमा उपभोक्ताहरु ठगिएमा सिधै कार्यालयमै सम्पर्क गर्न समेत उनले सबैमा आग्रह गरे । टोलीमा नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषाल, नगरपालिका प्रतिनिधि, इलाका प्रहरी कार्यालय पिपराका प्रतिनिधि , नगरका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७५ शनिबार ००:००  ६ : ०७ बजे