५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

प्रहरी जवानका लागि नमूना ब्यारेक निर्माण



सीताराम चौधरी, कपिलवस्तु ।
तल्लो तहका कर्मचारी बस्नका लागि समुदायको लगानीमा नमूना भवन बनेको सायद यो नै पहिलो होला । अधिकांश कार्यालयमा प्रमुखले पहिले आफ्नो लागि सुविधासम्पन्न आवाशको अपेक्षा गरेको भेटिन्छ । तर कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित वडा प्रहरी कार्यालयका तत्कालिन कार्यालय प्रमुख प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले आफ्नो लागि भन्दा पनि सिपाहीका लागि सुविधा सम्पन्न आवाशको परिकल्पना गर्नुभयो ।
आफ्नो च्यानलमार्फत नेपाल सरकारबाट भवनको लागि पटक पटक योजना पेश गर्दा पनि कुनै पहल नभएपछि उहाँले स्थानीय व्यक्तित्वहरुको साथ लिनुभयो । स्थानीय व्यक्तित्वहरुले पनि कार्यालय प्रमुख भट्टराईको भिजनप्रति सहमत भई भवन निर्माणमा अग्रसर भए । स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, राजनीतिज्ञ, उद्योगी, व्यापारी, व्यवसायीहरुको भेलाबाट जमशेर अलि मियाको संयोजकत्वमा निर्माण समिति गठन भयो । समितिमार्फत आर्थिक संकलनका साथै भवन निर्माण कार्यको थालनी भयो ।
समुदायकै तन, मन र धनबाट वडा प्रहरी कार्यालय परिसरमा अहिले अवलोकन गर्न लायककै नमूना प्रहरी जवान ब्यारेक निर्माण भएको छ । वि.सं. २०७३ चैत्र १३ गते सिलन्यास भएको भवन कूल ४९ लाख २१ हजार ६सय २३ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको संयोजक अलिमियाले बताउनुभयो । कूल ९७ जनाको दरबन्दी रहेको वडा प्रहरी कार्यालयमा जवान व्यवस्थापनमा सहजता ल्याउन ब्यारेक निर्माण गरिएको भवन निर्माण समिति संयोजक अलिमियाले जनाउनुभयो । “३७ सय वर्ग फुटमा निर्माण भएको ब्यारेकमा ६० जना बस्न सकिन्छ” –समिति संयोजक अलिले भन्नुभयो ।
७६फुट लम्बाइ र ३७ फुट चौडाइ भएको जवान व्यारेकमा हरेक कोठामा करीब १५ ओटा खाट अटाउने हिसाबले ठूला ठूला चारओटा कोठाको स्टिमेट गरिएको छ । ८ ओटा कोठालाई बीचको पार्टेसन हटाई चारओटा बनाइएको छ । व्यारेकमा १ खाटदेखि अर्को खाटसम्मको दूरी ३ फुट राख्दा पनि ६० ओटा सिंगल खाट अटाउँछ । भवन निर्माणमा कूल ५४ लाख ७ हजार ९सय २ रुपैयाँको लागत स्टिमेट गरेपनि झण्डै ५० लाखमै भवन निर्माण कार्य सम्पन्न भयो –तत्कालिन कार्यालय प्रमुख प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो ।
समुदायकै लगानीमा हालै सम्पन्न जवान ब्यारेक भवन निर्माण समितिले भव्य कार्यक्रमका बीच जवान व्यारेकको उद्घाटन गरेको छ । निकै उत्साह, तामझाम र राम्रो व्यवस्थापनका साथ भवन उद्घाटन कार्यक्रम भव्य रुपमा सफल भएको समितिले दाबी गरेको छ । कार्यक्रममा प्रदेश नं. ५ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले रीबन काटेर भवनको उद्घाटन गर्नुभएको थियो ।
भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक बस्नेतले प्रदेशका सम्पूर्ण प्रहरी कार्यालयको अवस्था बुझेर भौतिक संरचना अन्य व्यवस्थापनका लागि आफूले कार्ययोजना बनाई लागू गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । अति आवश्यकतालाई प्राथमिकीकरण गर्दै आवश्यक्ता परिपूर्ति गर्ने नायब महानिरीक्षक बस्नेतले आश्वासन दिनुभयो । शान्ति सुरक्षाबिना कुनै पनि विकासले गति लिन नसक्ने जनाउँदै उहाँले सम्पूर्ण कार्यालयका प्रमुखलाई गम्भीरताका साथ अवलम्बन गर्न निर्देशन दिनुभयो । नमूना भवन निर्माण गरी समुदायका जनताले उदाहरणीय कार्य गरेको औल्याउँदै उहाँले सबैलाई खुलेरै प्रशंसा गर्नुभयो । यसबाट प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन ठूलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. ३ (१) का प्रदेशसभा सदस्य अर्जुन केसीले वडा प्रहरी कार्यालय चन्द्रौटामा प्रहरी जवानको समस्यालाई मध्यनगर गर्दै यस भेगका स्थानीयहरुले भवन निर्माण गरी नमूना कार्य गरेको बताउनुभयो । प्रदेश सांसद केसीले प्रदेशका विभिन्न प्रहरी कार्यालयमा सवारी साधनको समस्या भएको हँुदा आफूले मुख्यमन्त्री लगायत गृहमन्त्रालयसँग अनुरोध गरेको समेत प्रदेशसभा सदस्य के.सी.ले बताउनुभयो ।
कपिलवस्तु क्षेत्र नं. ३ (२) का प्रदेश सांसद बीरेन्द्र कुमार कानोडियाले स्थानीय जनताको लागतमा निर्माण भएको भवन उदाहरणीय रहेको बताउनुभयो । यस किसिमको कार्यलाई अन्य ठाउँका बासिन्दाले पनि अनुशरण गर्नुपर्ने उहाँले जिकिर गनुभयो । प्रहरी र नागरिकबीच नङ र मासुको सम्बन्ध रहेको औल्याउँदै उहाँले प्रहरी प्रशासनलाई समस्या परेको बेला स्थानीयकै सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।
समुदायको लगानीमा नमूना भवनका साथै गोबर ग्यास, शौचालय, स्थानघर, चौपारी लगायतका निर्माण कार्य गरिएको भवन निर्माण समितिका कपिल खनालले बताउनुभयो । कार्यक्रममा समितिका कोषाध्यक्ष महादेव पोख्रेलले आय व्यय प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा सहयोगी दाताहरुलाई दोसल्ला र कदर–पत्रले सम्मान गरिएको थियो । साथै गोरखा सरुवा भई जानुभएका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईलाई सम्मानसहित विदाई गरिएको थियो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँ, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु, विभिन्न कार्यालयका प्रमुखसहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७५ शनिबार ००:००  ५ : ५५ बजे