५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नयाँ शक्ति छाडेका केशव दाहाल विवेकशील साझामा छिरे



मायादेवी अनलाइन, काठमाडौं ।
नयाँ शक्तिका नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । गत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका तथा गत दुई वर्षदेखि नयाँ शक्ति पार्टी नेपालको उच्च नेतृत्वमा रहेका केशव दाहाल उक्त पार्टी परित्याग गरि विवेकशील साझा पार्टीको उच्च नेतृत्वमा संलग्न भएका हुन्।
उनले “जति प्रयत्न गरे पनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने” निश्कर्षमा पुगेपछि करिव १० दिनअघि उक्त पार्टीबाट राजीनामा दिएका थिए। केशव दाहाल नेपालको प्रगतिशिल, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका विभिन्न राजनीतिक तथा सामाजिक मञ्चहरुमा करिब दुइ दशकदेखि सक्रीय छन्। नेपालको लोकतन्त्र, सामाजिक न्याय र सम्बृद्धिको अभियानमा सहभागी हुँदै २० भन्दा बढी मुलुकहरुमा आफ्नो राजनीतिक, सामाजिक तथा अन्य अभियानहरुको नेतृत्व गर्दै अवधारणापत्र र विचारहरु प्रस्तुत गरेका छन्।
नेपालमा वैकल्पिक राजनीतिको अपरिहार्यता सम्बन्धि बहसको उठान हुनु निकै अगाडि नै दाहाल समेतको मुख्य नेतृत्वमा २०६३ सालमा ‘वैकल्पिक विचार मंच’को गठन गरिएको थियो। सो मञ्चले नेपालको राजनीतिभित्र र बाहिरका विशिष्ट व्यक्तित्वहरूलाई संलग्न गराएर वैकल्पिक राजनीतिको बारेमा चर्चा, छलफल, अन्तक्र्रिया र प्रकाशनहरु गर्दै आइरहेको थियो। दाहालको ‘नेपाली राजनीतिको पूनर्गठन’ नामक पुस्तक प्रकाशित छ। उनले अन्य विभिन्न पुस्तकहरुमा सहलेखन र सम्पादन गरेका छन् जसमध्ये ‘वैकल्पिक विचार मन्च’द्धारा प्रकाशित ‘संघीयता र पुर्वीतराई’ तथा ‘लोकतन्त्रदेखि लोकतन्त्रसम्म’ मुख्य छन्। उनी नेपालका प्रमुख पत्रपत्रिकाहरूमा नियमतिरूपमा स्वतन्त्र लेखन पनि गर्दछन्।
दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो अटुट प्रयास विवेकशील साझासँगको सहयात्राबाट बल्ल टुङ्गोमा पुग्ने आशा बढेको बताए। यसअघिको आफ्नो राजनीतिक यात्रामा साथ दिने सबैप्रति उनले आभार प्रकट गरेका छन्। विवेकशील साझाका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापाले दहालजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझामा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो हुने बताएका छन्।

प्रकाशित मिति : ८ असार २०७५ शुक्रबार ००:००  १२ : ५२ बजे