मायादेवी अनलाइन, बुटवल ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मानपकडी दर्बाह क्षेत्रमा रहेको भुवनेश्वरी कोटइमाई मन्दिर क्षेत्रमा उत्खनन् सुरु भएको छ । पुरातत्व विभागले प्रारम्भिक उत्खनन १५ दिनसम्म जारी रहने जनाएको छ । लुम्बिनीको मायादेवी मन्दिर परिसरमा भेटिएको जस्तै पातलो खालको इँटा उत्खनन् क्षेत्रमा स्थानीयले देखिएको भन्ने सूचनाका आधारमा उत्खनन् सुरु गरिएको विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिनुभयो । अहिले ३ फिट चौडाइ, ५ फिट लम्बाइ क्षेत्रमा उत्खनन् गरिरहेका छौं, यहाँ गौतमबुद्धकी सानीमाको दरबार भएको किम्बदन्ती पनि छ,’ उहाले भन्नुभयो ।
डेढ विगाहा क्षेत्रफलमा रहेको मन्दिर परिसरमा स्थानीयले सामाजिक भवन निर्माणको लागि केही समय पहिला जग खन्दा पुरानो लुम्बिनीमा रहेको जस्तै विभिन्न आकृतिका इँटा फेला परेका थिए । त्यसपश्चात विभागले उक्त स्थान वरपर कुनै पनि भौतिक पूर्वाधार निर्माण गर्न रोक लगाएको छ । विभागका चार जना अधिकृतस्तरका कर्मचारीहरु सहितको टोलीले करिव १५ दिनसम्म उक्त स्थानमा उत्खनन् गर्ने छ ।
भुवनेश्वरी दर्बाह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विपीन कुर्मीका अनुसार प्रत्येक कात्तिक पूर्णिमाको दिन उक्त स्थानमा पाँच दिनसम्म रात-दिन मेला लाग्ने गर्दछ । स्थानीयबासीले आफूले चाहेको कुरा मन्दिरमा भाकल गर्ने र भाकल पूरा भएपछि सिमेन्टको हात्तीको आकृति बनाएर चढाउने गर्दछन् ।
७ असार २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया