११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

विमानस्थलको आन्दोलन स्थगित, स्थानीयले मुआब्जा पाउँने



मायादेवी अनलाइन, भैरहवा ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको विवाद तत्कालको लागि समाधान भएको छ । मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबार देखि निर्माणमा अवरोध हुने गरी आन्दोलनमा उत्रेका स्थानीयलाई मुआब्जा वितरण गरिने भएपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन् । मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आयोजनालाई प्राप्त भएपछि अहिले विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।
मुआब्जाका लागि आएको २ अर्ब रुपैयाँ वितरण कार्य बिहीबारबाटै कार्यान्वयन हुने विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिनुभयो । मुआब्जा पाउने भएपछि स्थानीयले थालेको आन्दोलन फिर्ता लिए भएको र विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सुचारु भएको पनि उहाले बताउनुभयो ।
एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त मुआब्जा रकम आयोजनाको खातामा नपठाएको भन्दै पीडितहरुले तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनको नेतृत्व गरेका ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणको लागि अर्थ मन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँ मध्ये २ अर्ब रुपैयाँ आइसकेको जानकारी पाएपछि आन्दोलन स्थागित गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ७ असार २०७५ बिहिबार ००:००  ३ : १३ बजे