५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

शौचालय नहुँदा किशोरीहरु विद्यालयमा असुरक्षित



हरि अधिकारी, कपिलवस्तु ।
यशोधरा गाउँपालिकाका किशोरीहरुले आफु पढ्ने विद्यालयमा शौचालयको राम्रो व्यवस्था नहुँदा असुरक्षित भएको बताएका छन् । उनीहरुले विद्यालयमा शौचालय र प्याडको व्यवस्था नहुँदा किशोरीहरुको पठनपाठनमा बाधा पुगेका बताएका थिए । सहभागी किशोरीले आफु पढ्ने विद्यालयमा शौचालय नै नहुनु र प्रयोग विहिन हुनुले किशोरीलाई धेरै समस्या परेका बताएका थिए ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तुले यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरमा आयोजना गरेको किशोरीहरुको शिक्षा र सुरक्षा विषयक सार्वजनिक बहस कार्यक्रममा विद्यालयले किशोरीहरुको आधारभूत आवश्यकता समेत पुरा गर्न नसकेको बताएका थिए । बहस कार्यक्रममा विद्यालयको शैक्षिक स्तर खस्कनु, गरिबीका कारण किशोरी पढ्न नपाउनु, निशुल्क शिक्षा भनेपनि विद्यालयले चर्को शुल्क उठाउने गरेको, छात्रबृत्ति वितरण नगर्नु र बाटोघाटोमा स्कुल जादा किशोरीलाई जिस्काउने जस्ता समस्या किशोरीहरुले उठाएका थिए । कार्यक्रममा अनरुद्ध पब्लिक माध्यमिक विद्यालय वैदौलीमा अध्ययरत रञ्जु मौरियाले गाउँपालिकामा माध्यमिक तथा क्याम्पस संचालन नहुँदा धेरै किशोरीहरु पढ्नबाट बञ्चित हुनुपरेको बताइन् ।
सहभागी किशोर किशोरीले ६।७ किलोमिटर हिडेर माध्यमिक शिक्षा पढ्न जानुपर्ने बाध्यताले गाउँका गरिब विपन्न बालबालिका उच्च शिक्षाबाट बञ्चितीमा परेको समेत बताएका छन् । कार्यक्रममा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेले आफनो गाउँपालिका भित्रका विद्यालयको अनुगमन गरेर किशोरीले उठाएका समस्याको समाधान गर्न आफु प्रतिबद्ध बताएका थिए । त्यस्तै कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष कन्यावती उपाध्यायले पुरुष सरह महिलाको हक अधिकार कानुनले दिएकाले गाउँ गाउँमा महिला तथा किशोरीको लागि क्षमता अभिबृद्धि कार्यक्रम संचालन गर्ने बताइन् ।
त्यस्तै यशोधरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खेमराज पौडेल, महिला बालबालिका शाखा प्रमुख गोमा ज्ञवालीले महिला तथा बालबालिकाको क्षेत्रमा बजेट कमी भएको उनीहरुको विकासमा शिक्षामा लगानी गर्नुपर्ने बताएका थिए । कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक हरि अधिकारीको अध्यक्षता तथा दलित सामाजिक विकास संस्थाका अध्यक्ष रामशरण रैदासको संचालनमा सम्पन्न कार्यक्रम सम्पन्न थियो ।

प्रकाशित मिति : ७ असार २०७५ बिहिबार ००:००  २ : ५८ बजे