मायादेवी अनलाइन, बुटवल ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले केन्द्रीय क्याम्पसमा स्नातक तहमा बुद्धिजम, टुरिजम एण्ड ट्राभल म्यानेजमेन्ट (बिबिटिटिएम) विषयको कक्षा सञ्चालन गर्ने भएको छ । डिन कार्यालयमार्फत गएको वर्ष बुटवलमा पहिलो पटक उक्त विषयको पढाई शुरु भएको थियो ।
रोजगारीको प्रसस्त सम्भावना र विद्यार्थीकोा आकषर्ण भएपछि केन्द्रीय क्याम्पसमा पठनपाठन शुरु गरिन लागेको हो । आगामी शैक्षिक सत्रदेखि पहिलो समेष्टरमा भर्ना लिने तयारी भएको विश्वविद्यालयका निमित्त डीन डा. माणिकरत्न शाक्यले बताए ।
कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीले बिबिटिटिएम विषय पढ्न पाउछन् । यो नेपालमै पहिलो पटक लुम्बिनी बौद्ध विश्वविद्यालयले शुरु गरेको पाठ्यक्रम हो । त्रिभुवन विश्वविद्यालयले ट्राभल एण्ड टुर्स काठमाण्डौंमा मात्रै अध्ययापन गराउदै आएको छ ।
होटल, एयरलायन्स, टुर गाइड, ट्राभल एजेन्सी तथा म्यानेजमेन्ट सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने यो पाठ्यक्रमको उद्देश्य छ । आठ सेमेष्टरमा पठनपाठन हुने पाठ्यक्रमले अंग्रेजी, चाइनिज र कोरियन भाषामा पनि दक्ष बनाउने उद्देश्य राखेको छ ।
लुम्बिनी स्थित केन्द्रीय कार्यालयमा बिबिटिटिएम कक्षा सञ्चालन अघि त्यस क्षेत्रका स्थानीय तहबीच छलफल आयोजना भएको छ । बुधबार भएको छलफलमा सहभागि स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो तहबाट कम्तिमा छ जना विद्यार्थीलाई छात्रबृत्ति दिने प्रतिवद्धता जनाएका छन् ।
पहिलो वर्ष अध्ययन गर्न आउने विद्यार्थीलाई कम्तिमा ५० प्रतिशत छात्रबृत्ति दिने तयारी गरिएको क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बताए । ‘लुम्बिनी आसपासबाटै बढी दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाएका छौं, त्यसमा स्थानीय तहको सहयोग हुनेछ भन्ने विश्वास छ, उनले भने ।
छलफलमा सहभागी हँुदै मर्चवारी गाउपालिकाका अध्यक्ष केशवानन्द बानियाले बौद्ध विश्वविद्यालय लुम्बिनी क्षेत्रको विकासको प्रमुख आधार भएको बताए । उनले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
मायादेवी गाउपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले पालिकाबाट छात्रबृत्ति उपलब्ध गराउने प्रस्ताव सकारात्मक भएको बताउदै पर्यटक भित्र्याउने जनशक्तिका लागि पालिकाले सहयोग गर्ने बताए । त्यस्तै कोटहीमाई गाउपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले बौद्ध शिक्षा र लुम्बिनीको विकास शिक्षाकै माध्यमबाट हुने विश्वास गरे ।
गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले आफ्नो क्षेत्रमा रहेको विश्वविद्यालयको योजना कार्यान्वयनमा गाउपालिकाले महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाँए । उनले आगाम िवर्षको बजेटमैछात्रबृत्तिको विषयमा निर्णय लिइने समेत बताए ।
कार्यक्रममा लुम्बिनी सांस्कृति नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तव, निमित्त प्रमुख विष्णु ढुंगाना, गैडहवा गाउपालिकाका प्रशासकीय अधिकृत टेकराज भट्टराई, सम्मरीमाईका प्रशासकीय अधिकृत टुकराजज पाण्डे, कोटहीमाईका प्रकाशकीय अधिकृत गणेश घिमिरे, मायादेवी गाउपालिकाका प्रशासकीय अधिकृत रोमाकान्त न्यौपाने, मर्चवारी गाउपालिकाका प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेल लगायतले बोल्दै विश्वविद्यालयलाई लुम्बिनीको मात्रै नभई मुलुककै गहनाका रुपमा अघि बढाउनुपर्ने बताए ।
विश्वविद्यालयले केन्द्रीय क्याम्पसमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी सञ्चालन गरिरहेको छ । त्यस्तै प्रमाण पत्र तहसरहका भाषा कक्षा समेत सञ्चालनमा रहेका छन् । लुम्बिनी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि बिबिटिटिएम कक्षा सञ्चालन गर्न थालिएको सहायक क्याम्पस प्रमुख निरबहादुर गुरुङले जानकारी दिए ।
६ असार २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया