१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्यूठानका स्थानीय तहमा बजेट निर्माणको तयारी सुरु



सलिम अन्सारी, प्युठान ।
दुई दशक सम्म स्थानीय तहमा जनप्रतिनिधी नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपर्यो । यसै बिचमा सम्पन्न भएका संविधानसभा निर्वाचनमा समेत आफैले भोट दिएर जिताएका प्रतिनिधिको अनुहार उनिहरु मुस्किलले देख्न पाउंथे । सर्वसाधारणका समस्या उनिहरुको घर र टोल सम्म पुगेर सोधीखोजी गरिदिने कोहि थिएन्न । तर, यहाँ चुनाब जितेर गएका जनप्रतिनिधी फेरि फर्केर समस्या,योजना बारे सुझाव लिदै गाउँ टोलमा आउँदा सर्वसाधारण पनि खुसी छन ।
स्थानिय सरकारका प्रतिनिधिसंग जिल्लाका बासिन्दाले घरै बसेर विकास माग्ने अवसर पाएका हुन् । आगामी असार १० भित्र हुने गाउँ तथा नगरसभालाई लक्षित गरी जिल्लाका धेरैजसो स्थानीय तहले आगामी आर्थिक बर्ष २०७५ र ७६ को लागि टोलटोलमा पुगेर योजना संकलन गरिरहेका छन् । असार २५ भित्र बजेट पेश गर्नुपर्ने स्थानीय तहहरुले असार १० गतेभित्रै नीति तथा कार्यक्रम पेश गर्नुपर्ने नितिगत व्यवस्था छ । दुई नगरपालिका र सात गाउपालिका सहित नौ स्थानियतह रहेको यस जिल्लामा जनप्रतिनिधी र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन ।
यो अवसर पहिलोपटक मिलेको स्थानीयले बताएका छन् । ‘पहिले र अहिलेमा धेरै फरक अनुभव भएको छ,’ सरुमारानी ४ का बासुदेव गिरिले भने, ‘जिल्ला परिषद् हुँदा नेताले भाषण गरेर सकिन्थ्यो । उनीहरूले टिपाएका योजनाका काम हुन्थे । अहिले हामी आफैंले योजना टिपाउने अवसर छ ।’ यसरी योजना छनोट गर्दा घरघरै जोडिएका बस्ती र सानोतिनो समस्या समाधानमा सहज हुने उनले बताए ।
नजिकको सरकारसँग सहज पहुँच हुने भएकाले ठूला योजनाभन्दा धेरै अपेक्षा हुने बताए । ‘ठूला योजना प्रदेश र केन्द्र सरकारले गर्छन्,’ उनले भने, ‘नजिकको सरकारले स–साना काम गर्ने हो । जसले ठूलो महत्त्व दिन्छ ।’ दुई नगरपालिका सहित नौ वटा स्थानिय तह रहेको प्युठानमा ६४ वटा वडा छन ।
वडा कार्यालयहरूले गाउटोलमा पुगेर छलफल गरी योजना छनोट गरेका योजना वडा हुँदै सम्बन्धित गाउँ तथा नगर पालिकासम्म पुर्याइने जनाएका छन् । ‘कार्यालयमा बसेर टिपेका योजनाले जनताको समस्या सुल्झिन्न,’ सरुमारानी १ का वडाध्यक्ष मुकुन्दराज शर्माले भने, ‘टोलटोलमै पुग्दा त्यहाँका समस्या जस्ताको तस्तै देखिन्छ ।
काम गर्दा जनताको सहभागिता बढ्छ ।’ टोलबासीले छानेका योजना गाउंसभामा पेस गरिने उनी बताउँछन् । उता,संघीय संरचनापछिको तेस्रो गाउसभालाई व्यवस्थित बनाउन हरेक वडाको टोल टोलमा पुगेर ल्याईएका योजनाहरुको संकलन गर्ने काम भईरहेको ऐरावती गाउँपालिका अध्यक्ष नविल बिक्रम शाह बताउँछन् । ‘अघिल्लो वर्ष अलमलमै परियो,’ उनले भने, ‘१ वर्षको अवधिमा धेरै सिकाइ भयो ।
जनतालाई दैलाको सरकारको अनुभूति हुने गरी जाँदै छौं ।’ सवै वडाका अध्यक्ष, सदस्य, गाउसभाका पदाधिकारी सबैसँग छलफल गरी गाउँ सभा गर्न लागिएको उनले बताए । जनताका अत्याबश्यक मागहरुलाई सम्बोधन हुने र शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न लागिएको गाउपालिका अध्यक्ष शाहले नेपाल समाचारपत्रलाई जानकारी दिए । चालु आर्थिक वर्षको अधिकांस बजेट भौतिक पुर्वाधार तर्फको सडकमा खर्चिएका स्थानीय तहले आगामी वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्न लागेको बताएका हुन ।
जनताले प्रत्यक्ष रुपमा दिइएको सुझाव र योजनाले आउँदो कार्यक्रम बनाउन सजिलो हुने सरुमारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी बताउँछन । नागरिकका वास्तविक आवाश्यक्ता के छन भन्ने बुझेर बनाएका योजना निती र कार्यक्रम नै सवैभन्दा प्रभावकारी हुन्छन । भण्डारीले भने ।बजेट निर्माणको पूर्व तयारीमा जुटेका जनप्रतिनिधिहरुलाई टुक्रे, साना र उपलब्धी विहिन योजनाहरु छनौट नगर्न सरोकारवालाहरुले सुझाब समेत दिएका छन् ।
विगतमा कर्मचारीहरुले राजनितीक दलहरुलाई साँछी राखेर बनाउने टुक्रे योजनाहरुको निरन्तरताले विकासको गतिमा कुनै सकरात्मक परिवर्तन नगर्ने भन्दै परिणाममुखी, दिगो ,बजेटको उपयोग हुने , जनतालाई सुविधा र रोजगारि सिर्जना गर्ने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको हो ।

प्रकाशित मिति : ६ असार २०७५ बुधबार ००:००  ४ : २३ बजे