सीताराम चौधरी, कृष्णनगर ।
पछिल्लो समय विचौलियाले मानव तस्करीको नयाँ तरिका अपनाउन थालेका छन् । मानव बेचबिखन विरुद्ध विभिन्न संघसंस्थाहरुले सीमा क्षेत्रमा निगरानी बढाएपछि विचौलियाहरु विभिन्न तरिका अपनाई नेपाली चेलीहरुलाई भारत छिराउने गरेका हुन् ।
यसैक्रममा कपिलवस्तुको कृष्णनगरस्थित मानव बेचविखन विरुद्ध कार्यरत शान्ति पुनस्र्थापना गृह (पीआरसी)ले प्रहरीको सहयोगमा रसुवाका दुई किशोरीको सीमाक्षेत्रबाट उद्धार गरेको छ ।
सीमा निगरानीका क्रममा दुई किशोरीहरुलाई सीमा पार गर्दै गर्दा पीआरसीले सम्पर्कमा ल्याएको हो । उद्धार गरिएका किशोरीहरुमा नाम परिवर्तन २२ वर्षीय विनिता र २४ वर्षीय सुनिता रहेका छन् ।
उनीहरुलाई भैरहवामा शिवराज नगरपालिका ९, शिवगढीकी ३६ वर्षीय संगिता सेन ठकुरीले सम्पर्कमा लिई बसमा चढाई कृष्णनगर पु¥याएको किशोरीहरुको बयानबाट खुलेको छ ।
यसैबिच बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकी प्रतिबादी संगिता विरुद्ध किशोरीहरुले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।
प्रहरीको जाहेरीको आधारमा पक्राउ परेकी संगितालाई इलाका प्रहरी कार्यालय कृष्णनगरले म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो । बेचविखनमा संलग्न रहेका ललित खत्री भने फरार रहेको बताइएको छ ।
५ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया