५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बजेटको विरोधमा कांग्रेस उत्रियो, प्रदेश संसद अवरुद्ध



मायादेवी अनलाइन, बुटबल ।
प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को सभा बैठक अवरुद्ध गरेको छ । समृद्ध प्रदेश, खुसी जनता सपना देखाएर सरकारले एकलौटी बजेट ल्याएको भन्दै कांग्रेसले पहिलो पटक संसद अवरुद्ध गरेको हो ।
सरकारले असार १ गते ल्याएको बजेटमा जिल्लागत विभेद गरिएको कांग्रेसको आरोप छ । बजेट कनिका छरिएजस्तै छुट्याइएको, कतिपय जिल्लामै शुन्य पारिएको र प्रतिपक्ष दलसंग छलफल समेत नगरेको भन्दै बिरोध जनाएको हो ।
त्यसलाई नसच्याएसम्म बैठक अवरुद्ध गर्ने कांग्रेसले जनाएको छ । सोमबारको बैठक सुरु हुनासाथ बजेट छलफलमा सहभागी भएका कांग्रेस सांसद डिल्ली चौधरीले बजेट सन्तुलित नभएको भन्दै संसद अवरुद्ध गर्ने बताउनुभएको थियो ।
सांसद चौधरीले आफ्ना धारणा राखेसंगै कांग्रेसका सांसद उभिएर विरोध जनाएका थिए । सभामुख पूर्णबहादुर घर्तीले पटक पटक बस्न आग्रह गरेपनि नबसेपछि कारबाही अघि बढाएका थिए । बजेटमाथि छलफलल गर्न सत्तापक्षीय सांसद दिपेन्द्र चौधरीलाई बोलाएपछि कांग्रेसका सांसदहरु बैठकस्थलबाट बाहिरिएका थिए । विपक्षी दल बाहिरिएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
बैठक सूचारु गर्नका लागि बसेको कार्यव्यवस्था समितिको बैठकमा कांग्रेसले मुख्यमन्त्रीले बजेटको विषयमा उचित सम्बोधन नगरी संसद बैठक चल्न नदिने अडान लिएपछि सुचना टासेर मंगलबार १ बजेबस्ने गरी स्थगित भएको छ । सोमबारको कार्यसूचीमा बजेटमाथि छलफलसंगै प्रदेश सभा नियमावली संसोधन प्रस्ताव निणयार्थ प्रस्तुत गर्ने कार्यसूचि थियो ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  १ : २९ बजे