मायादेवी अनलाइन, कपिलवस्तु ।
कोपवा स्वास्थ्य चौकीको नवनिर्मित भवनको शनिबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समुद्घाटन गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखा अन्तर्रगत २ करोड १६ लाखको लागतमा निर्माण भएको स्वाथ्य चौकीको भव्य समारोहका बीच मुख्यमन्त्री पोख्रेलले समुद्घाटन गर्नुभएको हो ।
भवन समुद्घाटन गर्दै उहाले आफ्नो ठाउँको विकास निर्माणमा आफै अग्रसर हुनुपर्ने बताउनुभयो । संविधान जारी भए संगै मुलुक नयाँ चरणमा प्रवेश गरेको बताउदै अब विकास निर्माणमा राजनीति खुसाउन नहुने कुरामा जोड दिनुभयो । नवनिर्मित स्वास्थ्य चौकीको भवन राम्रो भएपनि सेवा गुणस्तरीय हुनुपर्नेमा उहाको जोड थियो ।
कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले अब गाउ गाउमा विकासको लहर आउने बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकार देश निर्माणमा जुटेको भन्दै सांसद पन्थीले अब जनताको साथको अपेक्षा रहेको बताउनुभयो । जनताको साथ र सक्रियता विना केहि नहुने भन्दै उहाले राजनीतिलाई पर छाडेर विकासमा जोडिन आग्रह गर्नुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थान समितिका अध्यक्ष समेत रहनुभएका भिष्मराज भुसालले सर्वसाधारणले स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा पाउने प्रतिवद्धता जनाउनुभयो । अब छिट्टै बर्थिङ सेन्टर खोल्ने उहाले योजना रहेको बताउनुभयो ।
वडा अध्यक्ष भुसालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप सभापति तारावती चौधरी, वाणगंगा नगरका मेयर मंगल प्रसाद थारु, पूर्व कोपवा गाविस अध्यक्ष चिरिञ्जवी गिरी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज ठगराज पौडेलको स्वागत मन्तव्य र युवराज पोख्रेलको सञ्चालन रहेको थियो ।
३ असार २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया