५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नयाँ शक्ति पार्टीमा सात सदस्यीय हेडक्वार्टर गठन



मायादेवी अनलाइन, काठमाडौं
नयाँ शक्ति पार्टीले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकले डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा हेडक्वार्टर गठन गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।

टिममा डाक्टर भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी हुनुहुन्छ । हेडक्वाटरले दैनिक कार्यसम्पादन सहज बनाउने नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जानकारी दिनुभयो ।

यो कुनै नयाँ मर्यादाक्रम भने नभएको उहाँले बताउनुभयो । सबै कार्यालय सदस्यहरु महाधिवशेन आयोजक समितिका सदस्य हुने उहाँले जानकारी दिनुभयो । आगामी मंसिरमा महाधिवेशन घोषणा गरेको नयाँ शक्तिमा अहिले बहुपदीय प्रणालीमा गइसकेको छैन । बैठकले पार्टी प्रवक्ता प्रशान्त सिंहलाई सचिवालयमा थप गरेको छ ।

त्यसैगरी नेतृ दुर्गा सोबलाई आंगिक संगठनको संयोजन, भक्तबहादुर शाहलाई उत्पादन तथा स्वरोजगार विभाग तथा हिसिला यमीलाई प्रवास प्रदेशबाट राष्ट्रिय मामिला संयन्त्रको संयोजक र देवेन्द्र पराजुलीलाई प्रवास प्रदेशको जिम्मा दिएको पाण्डेले जानकारी दिनुभयो ।

बैठकले किसान संगठनको फ्र्याक्सन ईञ्चार्जमा टिकाराम पौडेललाई जिम्मेवारी प्रदान गरेको छ भने महाधिवेशन आयोजक समितिमा नरहेका जिल्ला संयोजकहरुलाई पदेन आमन्त्रित सदस्यको रुपमा महाधिवेशन आयोजक समितिमा थप गर्ने निर्णय गरेको छ । बैठकले पार्टीका नेताहरु देवी ओझा र केशव दाहालले दिएको राजीनामा स्वीकृत गरेको छ ।

यसैगरी, बैठकले ‘अबको निकास, आर्थिक विकास’लाई परिमार्जन गरेर ‘अबको निकास, समावेशी विकास’ बनाएको छ । सहभागितामुलक लोकतन्त्रमा विश्वास गर्ने नयाँ शक्तिले ५ ‘स’को अवधारणालाई अगाडि बढाएको पनि प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  १२ : २२ बजे