५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

घुस काण्ड : यसले पक्राउ परे सहायक वन अधिकृत महतो



मायादेवी अनलाइन, चन्द्रौटा ।
इलाका वन कार्यालय जवाबैराठका इन्चार्ज सहायक वन अधिकृत ब्रम्हदेव महतो अख्तियारको फन्दामा परेका छन् । सेवाग्राहीबाट ३ लाख घुस लिएका महतोलाई अख्तियारको टोलीले शिवराज नगरपालिका ५, कटनीस्थित उनको डेराबाट नियन्त्रणमा लिएको हो ।
गौतमबुद्ध साझेदारी वन उपभोक्ता समितिका सदस्य सचिव रहेका महतोले ठेकेदारबाट गोलिया काठ कटानी, निकासी अनुमतिका लागि घुस रकम लिएको बताइएको छ । महतोले काठको काम गर्ने एक ठेकेदारसँग विजयनगर गाउँपालिका ६, उज्ज्वलपुरमा शुक्रबार विहान सो रकम लिएको बुझिएको छ । घुस रकम दिएका सेवाग्राहीले अख्तियार टोलीलाई खबर गरी आफूले बुझाएको रकमको फोटोकपीसहित उपलब्ध गराएका थिए । विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलका टोलीले महतोलाई ३ लाख रकमसहित निजको डेराबाट पक्राउ गरेको हो ।
महतोको डेरामा छापा मार्दा महतोको डेराबाट ३ लाख रकम बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । घुससहित पक्राउ परेका महतोमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार टोलीले जनाएको छ ।
फोटो क्याप्सन – महतो बस्ने डेरामा अख्तियार टोलीले मुचुल्का उठाउँदै ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  २ : ५८ बजे