५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नयाँ शक्तिलाई अर्को धक्का, केशव दाहालले पार्टी छाडे



मायादेवी अनलाइन, काठमाडौं ।
नयाँ शक्ति पार्टी नेपालका संस्थापक नेता केशव दाहाल पार्टीबाट अलग भएका छन् । उनले पार्टीबाट दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको छ ।
उनले आफ्नो फेसबुक पेजमार्फत नयाँ शक्ति पार्टीबाट विधिवत रुपमा अलग भएको जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, नयाँ शक्ति पार्टीको असार १ गते बसेको केन्द्रीय समितिको बैठकले मेरो राजीनामा स्वीकार गरेको छ । पार्टी स्थापनादेखि निरन्तर रुपमा केन्द्रीय सचिवालय रही काम गरियो । यो सहकार्यका लागि पार्टी संयोजक र सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
दाहालले ०६४ सालमा ‘वैकल्पिक विचार मञ्च’ गठन गरेका थिए । बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेपछि दाहाल त्यसमै आवद्ध भएका थिए ।
नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालय सदस्य रहेका उनी पछिल्लो समय पार्टीको निर्णय र नेतृत्वप्रति असन्तुष्ट थिए । उनले आगामी दिनमा ‘वैकल्पिक, सफा र अझ सुन्दर राजनीतिको अभियान’ जारी रहने बताएका छन् ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  २ : ४५ बजे