५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

तम्घास सदरमुकामका सडकमा खाल्टै खाल्टा



शिवलाल सुवेदी । गुल्मी
गुल्मीकै सदरमुकाम तम्घासको सडकमा ठूल्ठूला खाल्टा देखिन्छन् । वर्षौंदेखि पक्की सडक भत्किएर अहिले सवारीका साधनहरु नै गुड्न नसक्ने गरि कामै नलाग्ने भइसकेको छ । १२÷१५ बर्ष अगाडि पाल्पा तम्घास सडक कालोपत्रे गर्ने क्रममा कालोपत्रे गरिएको सदरमुकाम तम्घास वजारको सडकमा ठुलाठुला खाल्टाले सवारीका साधनहरु नै चलाउन गाह्रो परेको छ । बजार क्षेत्रमा पछिल्लो पटक पाइलै पिच्छे खाल्टैखाल्टा भएर सडक बिग्रिंदै गइरहेको छ । यसले यात्रु र चालक दुवै मारमा परेका छन् । मर्मत गर्ने निकायले भने खासै चासो दिएको छैन । यसरी सडक भत्किएर खाल्टै खाल्टा हुदाँ र मर्मत नगर्नाले सडकको अवस्था दयनीय मात्रै होइन खतरापूर्ण बन्दै गएको छ ।

दैनिक सयौं सवारीका साधन तथा यात्रु ओहोरदोहोर गर्ने सडकमा खाल्टै खाल्टा हुदाँ पनि मर्मत नहुनाले यात्रु तथा सवारीका साधनहरुले कठिनाई भोग्नु परेको छ । सदरमुकाम तम्घास बजारको सडकमा जताजतै ठुलाठुला खाल्टाहरू बढ्दै गएका छन, खाल्टो जोगाएर गाडी चलाउन नै अप्ठ्यारो हुने गरेको छ साना सवारीका चालक कमल फुल्देलले भन्नुभयो, ‘बरु गाउँका धुले सडक राम्रो छन ।’ उहाँका अनुसार सदरमुकाम तम्घास बजारमा गाडी जोगाएर चलाउन साह्रै मुस्किल पर्ने गरेको छ । बजार क्षेत्रमा सडक साधुरो उत्तिकै छ उहाँ भन्नुहुन्छ, ‘ त्यसैमाथी ठूलाठुला खाल्टा बनाउने निकाय को हो साह्रै आपत !’

सडकमा ठुलाठुला खाल्टाका कारण साना गाडीहरूको इन्जिनै ठोक्किँदा गाडी बिग्रने र दुर्घटना हुने खतरा उत्तिकै हुने जिल्ला ट्राफिक प्रहरीको भनाई छ । सदरमुकाम तम्घास भित्रैका सडकमा पाइलैपिच्छे बिग्रँदै गएको छ, जिल्ला ट्राफिक प्रमुख डोर बहादुर थापाले भन्नुभयो, ‘के गर्ने चालकहरुले खाल्टा भएपनि जबरजस्ती रिक्स मोलेर गाडी चलाएका छन ।’ थापाका अनुसार खाल्टाका कारण दुर्घटनाको खतरा उस्तै रहेको छ । सडक भत्किदा वजार क्षेत्रमा धुलो उत्तिकै उड्ने गर्दछ । बजार क्षेत्रका सडकमा ठुलाठुला खाल्टा हुदाँ पनि कसले यसको मर्मत गर्ने भन्ने अन्यौलले पनि केही समस्या भएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले वताउनुभयो । लामो समयसम्म जनप्रतिनिधी भएनन् भुसालले भन्नुभयो, ‘अव छिट्टै सदरमुकाम तम्घासका खाल्टाहरुको मर्मत गर्ने काम शुरु हुन्छ ।’ उहाँले नगरपालिकावाट सदरमुकाम तम्घास भित्रका पक्की सडकका खाल्टाहरुमा कालोपत्रे गर्नका लागि वजेट छुट्टाएर काम गर्न जिम्मा लगाएको दाबी गर्नुभयो ।

प्रकाशित मिति : १ असार २०७५ शुक्रबार ००:००  ६ : ५४ बजे