११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

जग्गा अभावले १ मिटरमा नाली निर्माण, स्थानीयबासी भन्छन्, त्यसो गर्न हुन्न



माधव बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बजार पछाडि नाली नक्सामा ३ मिटर भए पनि निर्माण १ मिटरमा भएको छ । नक्सामा ३ मिटरको भए पनि नालीको जग्गा १ मिटर मात्रै बचेको हुनाले १ मिटर मै नाली निर्माण गरिएको शिवराज नगरपालिकाले जनाएको छ ।
नक्साको आधारमा नाली निर्माण गर्दा बजारका धेरै व्यक्तिहरुको भौतिक संरचना भत्काउनु पर्ने र बर्षायाम पनि शुरु भई सकेकोले जसरी भए पनि नाली निर्माण गर्ने तर्फ नगरपालिकाको ध्यान गएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नक्सा अनुसार नाली निर्माण नभए पछि स्थानीयबासी रुष्ट बनेका छन । नालीको जग्गामा बजारका गन्यमान्य व्यक्तिहरुले अतिक्रमण गरी भौतिक संरचना बनाएको हुदाँ नगरपालिकाले ती संरचना भत्काउन नसकी एक मिटर नाली कायम गरी काम गरेको स्थानीयले आरोप लगाएका छन ।
नगरपालिका भित्रका अन्य वडाहरुमा नाली निर्माण र बाटोको निहुँमा भौतिक संरचना भत्काएर २ मिटर नाली निर्माण गर्न सफल नगरपालिकाले चन्द्रौटा बजार क्षेत्र भित्र भने सार्वजनिक जग्गा र नक्सामा हुँदाहुँदै पनि १ मिटर मात्रै नाली निर्माण गरेको स्थानीयले बताएका छन । पुराना घरहरु पनि सार्वजनिक स्थलमा रहेका नया घरहरु पनि त्यहि अनुसार भइरहेकोले त्यसलाई नगरपालिकाले तत्काल रोक्नुपर्ने सुवास जयसवालले वताउनुभयो । नक्सामा रहेको ३ मिटर नै कायम गरि नाली बनाउन जयसवालले नगरपालिकालाई आग्रह गर्नुभयो ।
वर्षाको समयमा अत्याधिक पानी आउने भएकोले १ मिटरको नालीमा पानी नअटाउने स्थानीयहरुको भनाइ छ । सरकारी जग्गामा निमार्ण गरेका सम्पुर्ण संचारनाहरुले भत्काएर नाली निमार्ण गर्न सकेमा मात्र डुवानवाट वच्न सकिने स्थानीय सोन वहादुर सारुले वताउनुभयो । सरकारी जग्गा कव्जा गर्ने अधिकार नभएकै भन्दै नाली निमार्णमा कसैले अवरोध गर्न नहुने सारुले वताउनुभयो ।
नाली निर्माण पछि सार्वजनिक जग्गा मिचेर बनेका संरचनाहरुलाई विस्तारै हटाउदै जाने नगर प्रमुख अधिकारीले बताउनुभएको छ । भौतिक संरचना तत्काल भत्काउनु भन्दा बर्षायाममा हुने डुवानको समस्य जटिल भएकोले अहिले जसरी भए पनि पानीको निकास हुने नाली निर्माण गर्ने र पछि नक्सा अनुसार नै तीन मिटर नाली कायम गरिने अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५ बुधबार ००:००  २ : ४५ बजे