५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपाले गर्यो रामेछापमा सर्वसाधारणको ९९ जग्गा कब्जा



मायादेवी अनलाइन, रामेछाप ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ ।
२०३९ सालमा जग्गा नापीनक्सा गर्न गएका नापी र मालपोतका कर्मचारीलाई घुस खुवाएर पछि अन्य गाउँका सर्वसाधारण नागरिकलाई पास गरिदिने भन्दै अहिलेको दोरम्वा गाउँपालिका वडा नं २ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका वडा नं १ का मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ वडा नं २ का तेजबहादुर तामाङ र रोजवहादुर तामाङले जग्गा आफ्नो नाममा पारेको र पछि अन्य नागरिकलाई जग्गा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताहरुले जग्गामा पार्टीको झण्डा गाडी जग्गा कव्जामा लिएको जनाएको छ ।
यो जग्गा आइतबार रातिबाट आफ्नो पार्टीले कब्जामा लिएको उनीहरुले बताएका छन् । जग्गा सर्वसाधारण नागरिकलाई पनि दिने भन्दै सुरुमा पैसा असुलेको तर अहिलेसम्म पैसा तिर्ने नागरिकलाई जग्गा पनि नदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै जग्गा कब्जा गरेको नेकपा जिल्ला जनपरिषदले जानकारी दिएको छ ।
कव्जामा लिएको जग्गा कोही कसैले हस्तक्षेप गर्न खोजे जिल्ला जनपरिषद रामेछापले सार्वजनिक अपिल गर्दै जुनसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५ मंगलबार ००:००  ७ : ३९ बजे