५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

गर्मीले जनजीवन बेहाल : एकै विद्यालयका ७ विद्यार्थी वेहोस



मायादेवी अनलाइन, तौलिहवा ।
अत्याधिक गर्मीका कारण कपिलवस्तुमा एकै विद्यालयका ७ जना विद्यार्थी वेहोस भएका छन् । मायादेवी गाउँपालिका १ मा रहेको छत्रपाली तिर्थादेवी मा.वि.मा अध्ययनरत ७ विद्यार्थी गर्मीका कारण वेहोस भएको विद्यालयका प्रद्यानाध्यापक नरेन्द्र बहादुर कुर्मीले बताए । ७ विद्यार्थी मध्ये २ जनालाई स्थानीय स्वास्थ्य चौकी पकडीमा रिफर समेत गरिएको थियो । गर्मी बढ्दै गएपछि विद्यार्थी बस्ने विद्यालयको टिनको भवन तात्दा विद्यार्थी निस्सासिएर वेहोस भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ कुर्मीका अनुसार दिउँसो १ बजेदेखि पालैपालो गरी ७ जना विद्यार्थी वेहोस भएका थिए । यसरी वेहोस हुनेमा ३ छात्र तथा ४ छात्रा रहेका छन् ।
एक कक्षा देखि ८ कक्षा सम्मका विद्यार्थी कक्षाकोठामै पठनपाठन गरिरहेको बेला बेहोस भएर लडेको विद्यालयले जनाएको छ । विद्यार्थी कक्षामा लडेपछि खुल्ला ठाउँमा ल्याई प्राथमिक उपचार गरेपछि विस्तारै ठिक भएको विद्यालयले जनाएको छ । विद्यालयमा टिनको छानामुनी विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ, विद्यालयका प्रअ कुर्मीले भने, ‘सवै कक्षा कोठामा पंखा छैन, पटक पटक विजुली गइरहन्छ, विद्यार्थीलाई पढ्न कठिन छ ।’ उनले विद्यालयमा विद्यार्थीको चाप पनि बढि भएको बताउँदै कक्षा कोठामा बस्न पनि समस्या भएको बताए । तराईमा केही दिन यता गर्मी अत्याधिक बढेपछि विद्यार्थीलाई पठनपाठनमा समस्या आएको छ । दिवाकालिन कक्षा संचालन गर्दै आएको सरकारी विद्यालयले यस्तै गर्मी बढे विहानी कक्षा संचालन गर्ने जनाएको छ । गर्मी बढेसंगै कपिलवस्तुका केही निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५ मंगलबार ००:००  १ : ४० बजे