सलिम अन्सारी, प्युठान ।
गौमुखी क्षेत्रको संरक्षित वन व्यवस्थापन कार्ययोजना वन मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रालयमा कार्ययोजना रोकिए संगै गौमुखी क्षेत्रलाई संरक्षित वन घोषणा गर्ने सरकारी योजना लामो समय देखि अलपत्र परेको छ । जिल्ला वन कार्यालयले २०६९ सालमा कार्ययोजना बनाई क्षेत्र, विभाग हुँदै स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो ।
वन कार्यालयले अध्ययन पछि तयार गरी स्वीकृतिका लागि पठाएको कार्ययोजना मन्त्रालय मै थन्किए पछि पर्या–पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको गौमुखी क्षेत्र ओझेलमा पर्दै गएको छ । ५ वर्षे संरक्षित वन व्यवस्थापन कार्ययोजना तयार पारेर पठाएको कार्यक्रम मन्त्रालयमै रोकिन पुगेको जिल्ला वन अधिकृत प्रबिण बिडारीले बताए ।
‘गौमुखी जस्तै देशभरका ८ वटा कार्यक्रम पनि मन्त्रालयमै रोकिएका छन् जिल्ला बन अधिकृत विडारीले भने, ‘गौमुखीलाई संरक्षित बन घोषणा गर्न कार्यालयका तर्फबाट पहल भैरहेको छ ।’ २०६९ सालमा कार्ययोजना स्वीकृत भएर कार्यान्वयनमा आएको गौमुखी संरक्षित वन कार्ययोजनाको म्याद सकिनै लाग्दा समेत घोषणा हुन नसकेको हो ।
उत्तरी प्युठानका साविकका नौ गाविसका बासिन्दा सँग पटक–पटक छलफल र अन्तक्र्रिया पछि संरक्षित बनको प्िरक्रया अघि बढाईएको थियो । कार्ययोजना अन्तर्गत ११ सदस्यिय गौमुखी संरक्षित वन परिषद समेत गठन गरिएको छ । बन कार्यालयका अनुसार संरक्षित बन घोषणाका लागि जिल्ला परिषदबाट समेत निर्णय गरेर बिभागमा पठाई सकिएको छ । तर, बन बिभागले गरेको प्रस्ताव बन मन्त्रालय मै थन्किए पछि संरक्षित बन घोषणाको प्रस्ताव कागज मै सिमित हुन पुगेको छ । यद्यपी कार्ययोजना अन्तर्गत बर्षै पिच्छे विविध कार्यक्रम हुँदै आएको छ । गौमुखी संरक्षित वन क्षेत्रमा अहिले सम्म ४५ लाख रुपैया खर्च भैसकेको जिल्ला बन कार्यालयले जनाएको छ ।
पछिल्लो पटक बन बिभागले ७ लाख जतिको कार्यक्रम पठाएको छ । बन अधिकृत बिडारीले भने, “बजेट घट्दो क्रममा छ ।” संघीय संरचना कार्यान्वयनमा आएपछि केन्द्रीय बजेट परेको छैन् । गौमुखी, नौबहिनी, झिमरुक गाउँपालिका अन्तर्गतका रजवारा, अर्खा, खुङ, पूजा, नारीकोट, लिवाङ, स्याउलिवाङ, लिघा र खवाङ गरी २६ हजार २०४ हेक्टर क्षेत्रफलमा यो बन क्षेत्र फैलिएको छ । त्यसमध्ये १८ हजार ३८ हेक्टर वनक्षेत्र र ८ हजार १६६ हेक्टर आवादी छ ।
जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थान समेत हो । बाग्लुङको ढोरपाटन शिकार आरक्ष संग जोडिएको यो बनक्षेत्रमा कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज जस्ता दुर्लभ एवं लोपोन्मुख जिवजन्तु तथा चराचुरुङ्लिे वासस्थानको रुपमा प्रयोग गरेको पाइन्छ । आर्थिक विकासका लागि महत्वपुर्ण जडिबुटी, लघुबन पैदावार यस संरक्षित बन क्षेत्रमा प्रशस्त पाईन्छन ।
यसको संरक्षणले यहाँको आर्थिक तथा पर्यटकिय बिकासमा अहम भुमिका खेल्ने भएकाले यसको संरक्षणका लागि सवै एक भएर लाग्नुपर्ने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । यता गौमुखीलाई स्थानीय बासिन्दाले समुदायमा आधारित संरक्षण क्षेत्रको रूपमा घोषणा गर्न माग गर्दै आएका छन ।
२९ जेष्ठ २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया