५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता



मायादेवी अनलाइन, काठमाण्डौं ।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ताको प्रमाणपत्र पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दल दर्ताको प्रमाणपत्र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पार्टीका महासचिव पौडेललाई विहिबार निर्वाचन आयोगको कार्यालयमा प्रदान गर्नु भएको हो ।
बिहीबारबाट दल दर्ताको कामले औपचारिकता पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवाष नेम्वाङले जानकारी दिनु भयो । उहाँले दल दर्ताअनुसार नै पार्टी संसदीय दलको व्यवस्थापन हुने पनि स्पष्ट पार्नु भयो । दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेकपा कम्युनिष्ट पार्टीले दल दर्ताका लागि जेठ ३ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सोही निवेदनमाथि छानवीन गर्दै निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ताको प्रमाण पत्र सम्बन्धित दललाई प्रदान गरेको हो । नेता नेम्वाङले दल दर्ता गर्ने काम ऐतिहासिक भएको भन्दै त्यसमा सहयोग गरेको भन्दै निर्वाचन आयोगलाई पनि धन्यवाद दिनुभयो ।
नेता नेम्वाङले महाधिवेशन पछि निर्वाचन आयोगको परामर्श अनुसार पार्टीको केन्द्रिय कार्य समितिमा ३३ प्रतिशत महिला सहभागी गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रमाण पत्र बुझ्नका लागि पार्टीका महासचिव पौडेल, नेताहरु नेम्वाङ, देवप्रसाद गुरुङ निर्वाचन आयोगको कार्यालय पुग्नु भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५ बिहिबार ००:००  ३ : ३६ बजे