११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

कृष्णनगरमा सामुहिक रोजा इफ्तार



सीताराम चौधरी, कृष्णनगर ।
मुस्लिम धर्मावलम्बीहरुद्वारा कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, चैपुरवामा सामुहिक रोजा इफ्तार खोलिएको छ ।
फरक धर्म संस्कृतिबीच आपसी एकता, सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्न राष्ट्रिय मदरसा संघ नेपालद्वारा सामुहिक इफ्तार गरिएको हो । मुस्लिम समुदायको एक महिने रोजा (रमजान) को अवसरमा मदरसा संघका महासचिव मौलाना मशहूद खाँ नेपालीले आफ्नै गृह निवास चैपुरवामा रोजा इफ्तारको आयोजना गरेका हुन् । विगत तीन वर्षदेखि मौलाना नेपालीले रमजानको अवसरमा रोजा इफ्तारको आयोजना गर्दै आएका छन् ।
इफ्तारमा विभिन्न धर्म सम्प्रदायका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । एकै ठाउँमा जम्मा भएका हिन्दू मुस्लिम समुदायले मिठा मिठा पक्वान खाँदै सामुहिक रोजा इफ्तार मनाएका थिए । विगत तीन वर्षदेखि मदरसा संघका केन्द्रिय महासचिव एवं मदरसा बोर्डका सदस्य समेत रहेका मौलाना मशहूद खाँले सबै नेपालीबीच आपसी सद्भाव कायम गर्न एक महिने रमजानको अवसरमा एक दिन सामुहिक रोजा इफ्तार कार्यक्रमको आयोजना गर्दै आएको बताए । कार्यक्रमले मेलमिलापको भावना जागृत गर्ने र सबै नेपालीबीच आपसी भाइचाराको सम्बन्ध प्रगाढ बनाउने मौलाना नेपालीको विश्वास छ ।
रोजा इफ्तार कार्यक्रममा मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुल गनी अल कुफीले मुस्लिम समुदायको महान पर्व इदूल फित्रको अवसरमा रोजा (व्रत) बसेर मनाइने रमजान पर्वले सबै सम्प्रदायबीच आपसी सद्भाव कायम होस् भनी शुभकामना दिएका थिए । रोजा इफ्तारमा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह तथा आसपास क्षेत्रका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका पार्टी प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तमा हालै इलाका प्रहरी कार्यालयको पदभार सम्हालेका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी र नेपाल बैंक लिमिटेडका प्रमुखलाई नेपाली भाषामा उल्था गरिएको कुरान हस्तान्तरण गरिएको थियो । कार्यक्रमका सहभागीले रमजानको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५ बिहिबार ००:००  २ : २८ बजे