५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सीमाबाट चेलीको उद्धार, भारत हुँदै तेस्रो मुलक लैजाने बिचौलियाको योजना असफल



सिताराम चौधरी, कृष्णनगर ।
गरिबी, अशिक्षा र बेरोजगारको उपज ठूलो सपना बोकेका कैयौं नेपाली चेलीहरु विचौलियाको प्रलोभनमा परी आफ्नो जिन्दगी बर्बाद भएको पत्तै पाउँदैनन् । जुन अत्यन्त दुःख लाग्दो अवस्था हो । घरमा चरम दुःख अनि परिवारमा आएको विखण्डनले दलाललाई सहज भएको पाइन्छ ।
यस्तै घटनाबाट अछुत हुन सकिनन् बुटवलकी एक २४ बर्षीय किशोरी नाम परिवर्तन सीता थापा । केही बर्षअघि श्रीमान् जेल परेपछि दुई सन्तानलाई अनेकौं कष्ट सहेर हुर्काउँदै आएकी थिइन् उनी । उनको दुःखलाई नजिकैबाट नियालिरहेका एक बिचौलियाले होटेलमा सम्पर्क गरे । बिचौलियाले तेस्रो मुलुक दुबईमा राम्रो तलब पाउने भनी प्रलोभन देखाई एक व्यक्तिको साथ लगाई कृष्णनगरको नाका हुँदै भारत पठाउन लागेका केआई नेपालका जिल्ला संयोजक केशर विश्वकर्माले बताए ।
कपिलवस्तुको कृष्णनगर पुगेकी किशोरीलाई संकाष्पद मानी केआई नेपालले सम्पर्कमा लिएको संयोजक विश्वकर्माले बताए । सोधपुछका क्रममा किशोरीले सँगै आएका व्यक्तिको नाम समेत थाहा नभएको बयान दिएको विश्वकर्माले जनाए । किशोरीका अनुसार सीमाक्षेत्रमा पुगेपछि तिमी पछि पछि आउ, म अगाडि जान्छु भनी व्यक्तिले सीमा पार गरेका थिए । “किशोरको बयानका आधारमा नेपाल प्रहरी र केआई नेपालको टोलीले सँगै आएका व्यक्तिको खोजतलास समेत ग¥यौं । तर व्यक्तिले मोबाइल समेत स्वीच अफ गरे, उसको पत्तै लगाउन सकिएन” – केआई जिल्ला संयोजक विश्वकर्माले भने ।
सम्पर्कमा आएकी किशोरीलाई केआई नेपालले अभिभावक बोलाई जिम्मा लगाएको संयोजक विश्वकर्माले जानकारी दिए । यसबाट अन्य चेलीहरुमा यस्तो अवस्था नआओस् भनी सम्बन्धित जिल्लाहरुमा पनि जनचेतनामूलक अभियान चलाउने विश्वकर्माले विश्वास व्यक्त गरे । चेलीमाथि हाम्रो आँखा नगएको भए ती चेली बेचबिखनमा पर्नसक्ने थुप्रै प्रमाण रहेको संयोजक विश्वकर्माले बताए । विश्वकर्माका अनुसार अर्का दुई किशोरी घरमा कुनै जानकारी नदिई भारत जाँदै गर्दा उद्धार गरिएको छ । उद्धार गरिएका किशोरीहरु दाङ र अर्घाखाँचीका हुन् । उद्धार गरिएका ती चेलीहरूलाई पनि अविभावकको जिम्मा लगाई घर फिर्ता गरिएको उनले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५ बिहिबार ००:००  २ : २५ बजे