११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

सांसदलाई आइएनजिओबाट तालिम, सांसदले दिए बहिस्कार गर्ने चेतावनी



मायादेवी अनलाइन, काठमाडौं ।
संसद सचिवालयले दाताको खर्चमा तालिम दिन लागेको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका छन् । संसदीय प्रक्रियाबारे जानकारी गराउन भन्दै सचिवालयले बुधबार र बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको लागि तालिम आयोजना गरेको छ ।
सरकारी बजेट थन्क्याएर सचिवायलले राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको लगानीमा तालिम गर्न लागेको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका हुन् । अपारदर्शी र सरकारको नियन्त्रणबाहिर रहेका संस्थाहरुले आयोजना गर्ने कार्यक्रमको औचित्य नहुने नेकपाका सांसद झपट रावलले बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले आफू तालिममा सहभागी नहुने जानकारी गराउनुभयो ।
तर सचिवालयले भने यूएनडीपीसँग यसअघि पनि सहकार्य हुँदै आएको र यसपटक पनि नियमित कार्यक्रम अन्तर्गत नै तालिम आयोजना गरिएको जनाएको छ । सचिवालयका प्रवक्ता भरतराज गौतमले स्टेशनरी खर्च मात्र यूएनडीपीले दिने, तर सबै व्यवस्थापन आफूहरुको भएको बताउनुभयो ।
यसअघि पनि यस्ता कार्यक्रम हुँदै आएकाले यसलाई अर्को अर्थमा नबुझ्न पनि उहाँले आग्रह गर्नुभयो । तर देशको नीति निर्माण गर्ने सर्वोच्च निकायमा समेत एनजीओ र आईएनजीओको प्रभाव बढेको भन्दै आलोचना बढिरहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५ बुधबार ००:००  ३ : ४१ बजे