सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको एक विद्यालयमा व्यवस्थापन समिति छनौटका लागि भएको चुनावको माहोलले संसदीय निर्वाचनको झल्को दिइरहेको थियो । विद्यालय प्राङ्गणमा दुई प्यानलको छुट्टाछुट्टै रौनक देखिन्थ्यो । निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष चुनावी मैदानमा उत्रिएका थिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले “साइकल” चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको थियो भने नेपाली कांग्रेसको प्यानल “बस” चिन्ह लिएर उम्मेदवारी दिएको थियो । बिहानैदेखि विद्यालयको वातावरण चुनावी माहोलले तातेको थियो ।
कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित राष्ट्रिय माविमा विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य छनौटका लागि निर्वाचन भएको हो । लामो समयदेखि व्यवस्थापन समितिका लागि सहमति जुट्न नसकेको विद्यालयमा निर्वाचनको माध्यमबाट व्यवस्थापन समिति छनौट गरिएको छ ।
विहान ७ बजेबाट शुरु भएको निर्वाचन दिउँसो २ बजे सकिएको थियो । कूल ११सय ६२ अभिभावक रहेको विद्यालयमा ६१५ अभिभावकले मतदान गरेका थिए । निर्वाचनबाट ‘बस’ चुनाव चिन्ह लिएर प्रतिष्र्धामा उत्रिएको नेपाली कांग्रेस प्यालनका सदस्यहरुले बहुमतले जीत हासिल गरेका छन् ।
चुनावमा करोडपति केवटले ३०४ मत, रेनु थापाले ३२० मत, सन्तराम चौधरीले ३१४ मत र उमेश थारु चौधरीले ३२० मत प्राप्त गरी प्यानलै विजयी भए । प्रतिष्पर्धी नेकपा प्यानलको साइकल चुनावचिन्हका उम्मेदवार सुशिला चौधरीले २३६ मत, कविता आचार्यले २२९ मत, रामनिवास मौर्यले २२१ मत र साहु थारुले २२२ मत ल्याएको विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेले जानकारी दिए । यता घडी चुनावमा एकल उम्मेदवारी दिएका मो. तोफिक खाँले ४ मत प्राप्त गरेको बताइएको छ । विजयी व्यवस्थापन समिति सदस्यहरुलाई सांसद अभिशेष प्रताप शाहले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
२१ जेष्ठ २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया