मायादेवी अनलाइन, तौलिहवा ।
बगरमा खरबुजा फलाएर बुद्धभूमि नगरपालिका– ९ धनकौली गाउँका कृषकले पचास हजार देखि एक लाख सम्म आम्दानी गर्ने गरेका छन् । धनकौलीको मोतिनगर लगायतका गाउँका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा खरबुजा उपादन गरी राम्रो आम्दानी गर्ने गरेका हुन् । उनीहरुले वाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन् । नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमूनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि १ लाख बढी सम्मको आम्दानी गरेका हुन । बैशाख दोस्रो साता देखि कृषकहरुले खरबुजा बेच्न सुरु गरेका हुन । ५ कठ्ठामा खरबुजा लगाएका साबिक धनकौली गाबिस– ९ मोतिनगरका कृषक रमेश केवटले बैशाख दोस्रो साताबाट तौलिहवा बजारमा खरबुजा बेच्न सुरु गरेको बताउनुभयो । खरबुजा बेचेर यस बर्ष ८० हजार आम्दानी हुने उहाँ बताउनुहुन्छ । हरेक बर्ष खरबुजा बेचेर १ लाख आम्दानी गर्दै आउनुभएका उहाँले खरबुजा खेती आफुलाई फापेको बताउनुभयो । उत्पादन बढी भएकोले यस बर्ष गत बर्षको तुलनामा खरबुजाको मुल्य घटेको बताउनुभयो । गत बर्ष १५ देखि २० रुपैँया प्रति किलो बेचेको थिए, यस बर्ष १० रुपैया मात्र पाएको उहाले बताउनुभयो ।
अर्का कृषक दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताउनुभयो । बैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा रापिदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेको केवटले बताउनुभयो । ‘यस बर्ष सिंचाई र पश्चिमेली हावा नचलेकोले उत्पादन बढेको बताउनुभयो । गत बर्ष यही खेतीबाट ढेड लाख आम्दानी गरेको उहाले भन्नुभयो ‘सिंचाईको सुबिधा हुन सके आम्दानी अझ बढ्ने थियो ।’ २ बिघामा बगरे खेती गरेका अर्को कृषक बुद्धु केवटले यस बर्ष एक लाख मात्र आम्दानी भएको बताउनुभयो । माधुरी ६४ जातको खरबुजा एक कठ्ठामा नै १५ क्युन्टल बढी उत्पादन हुने कृषकहरु बताउँछन् । यहाँ एक देखि ११ किलो सम्मको तरबुजा उत्पादन हुने गरेको छ ।
कृषकहरुद्धारा उत्पादित तरबुजा अहिले जिल्लाका बिभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ । यहाँका बजार तरबुजामय बनको छ । अहिले बजारमा तरबुजा प्रति केजी १० देखि १५ रुपैँया सम्ममा बिक्री भईरहेको छ । खरबुजा खरिद गर्न बुटबल, भैरहवा, अर्घाखाँची सम्मका ब्यापारीहरु खेतमै आउने गरेका छन् । बढ्दै गएको गर्मीसंगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुर्याउन किसानहरु ब्यस्त देखिन्छन् । सो फल संगै उनीहरुले त्यहाँ काक्रो, तरकारी उत्पादन समेत गर्ने गरेका छन् ।
बजारमा भारतबाट समेत खरबुजा आयत गर्न थालिए पछि आफुहरुलाई बिक्रीमा अलि समस्या परेको कृषकहरु गुनासो गर्छन । भारतीय खरबुजा नआएको भए आफुहरुले अझ राम्रो भाउ पाउँन सक्ने उनीहरु बताउँछन । जिल्लामा ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस बर्ष १३ सय मेट्रिक टन तरबुजा उत्पादन भएको छ । यहाँ माधुरी ६४ र मधुवाला जातका तरबुजा उत्पादन हुने गरेको छ ।
२१ जेष्ठ २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया