५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

बर्षाको कारण जीतपुर–तौलिहवा सडक खण्डमा क्षति, समयमा काम नहुने आशंका



मायादेवी अनलाइन, कपिलवस्तु ।
शुक्रबार राती र शनिबार विहान परेको अविरल बर्षाले कपिलवस्तुको जीतपुर तौलिहवा सडक खण्डको निर्माण कार्य प्रभावित भएको छ । वर्षाका कारण दुई वटा अलकत्रको ट्याक्कर, अन्य उपकरण तथा मजदुरको काम प्रभावित भएको हो । गत सोमबारदेखि सडक कालोपत्रेको कार्य तीव्र रुपमा अघि बढाए पनि बर्षाका कारण निर्माण कार्य प्रभावित भएको सडक आयोजनाका इन्चार्ज गम बहादुर गुरुङ्गले बताए । तत्काल तीन किलोमिटर कालोपत्रेको तयारी गरिएको भएपनि बर्षाका कारण सडक कालोपत्रे गर्ने कार्य प्रभावित भएको उनले बताए । पूर्व पश्चिम राजमार्ग र सदरमुकाम तौलिहवा जोड्ने जीतपुर तौलिहवा सडकखण्डको अधिकांश भागमा वर्षाका कारण क्षति पुगेको छ । उक्त सडक खण्ड अन्तरगत चारनम्बर जीतपुरमा हालै निर्माण गरिएको सडकको नाली भत्किएको छ । शुक्रबार रातीको वर्षाका कारण झण्डै ४० मिटर सडक नाली भत्किएको प्राविधिकले बताएका छन् ।
सडक आयोजनाका इन्चार्ज गुरुङ्गका अनुसार यसैगरी वर्षा भईरहे सडक कालो पत्रे कार्य प्रभावित हुने र तोकिएको समयमा काम सक्न गाह्रो हुने जानकारी दिए । भत्किएको ४० मिटर नालीको छेउबाट माटो फिलिङ्ग नगरेका कारण भत्किएको कम्पनीका इन्जिनियर गणेश सापकोटाले जानकारी दिए । कालो पत्रेको तयारीमा रहेको जीतपुर तौलिहवा सडकको अधिकांश भागमा वर्षाका कारण सडक खाल्डाखुल्डी र दुवै साइडमा क्षति पु¥याएकोे हो । ठुला मालबाहक साधनलाई रोक लगाएर सोमबारदेखि सडक कालोपत्रे शुरु गरेको कम्पनीले बर्षाका कारण काममा ढिलाई हुने जनाएको छ । डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुका इन्जिनियर मनिष सिंहले स्थानीय प्रशासनले सडक निर्माण कार्य र सडकको गुणस्तर ल्याउन सहयोग पु¥याएको बताए । निर्माण क्रममै भत्किएकोले यसको पुनः निर्माण कार्य हुन्छ, ‘इन्जिनियर सिंहले भने, समय छदै भत्किएकोले सुधार गरिनेछ ।’ उनले अहिलेको वर्षाले सडक निर्माणको कार्यको गुणस्तरका कमी आउन नदिने दाबी गरे । जीतपुर तौलिहवा सडक खण्डको भ्याटबाहेक ३३ करोडमा बज्रगुरु दिवा एमके जेभीले ठेक्का लिएको छ । यो सडक खण्ड दुई लेनको कालोपत्रे आउदो २०७५ माघ भित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७५ आइतबार ००:००  ३ : २५ बजे