११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

बाटो बिराएकालाई सही ट्रयाकमा ल्याउनु पर्छ : खरेल



सीताराम चौधरी, कपिलवस्तु ।
बाटो बिराएकालाई सही ट्रयाकमा ल्याउन खबरदारी गर्नु मानव अधिकारकर्मीको मुख्य भूमिका रहेको राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रिय अध्यक्ष भवानी प्रसाद खरेलले बताएका छन् ।
हरेक नागरिकले स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउनुपर्ने औल्याउँदै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष खरेलले शान्ति सुव्यवस्था कायम गर्न मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाले जिल्लाको चन्द्रौटामा आयोजना गरेको मानव अधिकार शिक्षा विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष खरेलले यस्तो बताएका हुन् ।
मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौता तथा अन्य किसिमका दस्तावेजमा लेखिएका कुरा एउटा आधार भएको बताउँदै उनले भने– “मानव अधिकारको कुरा गर्दा तपाईं जहाँ हुनुहुन्छ, त्यहाँको हावापानी र माटो अनुसारको व्यवहार गर्न जरुरी हुन्छ ।” मानव अधिकारको दृष्टिले के गर्न हुने, के गर्न नहुने, मानव अधिकार भनेको के हो, नेपालको संविधानले के परिभाषित गरेको छ र राष्ट्रिय मानव अधिकार आयोगले के परिभाषित गरेको जस्ता आधारभूत जानकारी सबैले पाउनुपर्ने उनले बताए ।
कपिलवस्तु क्षेत्र नं. ३(१)का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले हरेक नागरिकले सोंच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । विद्रोही र सुरक्षाकर्मीलाई सजग गराउने काम नै मानवअधिकारकर्मीको हो उनले भने ।
कार्यक्रममा नेपाल सरकारका पूर्व राज्यमन्त्री ईश्वर दयाल मिश्र, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, शिवराज नगरपालिका कार्यपालिका सदस्य शान्ता सेन, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलिमिया, महिला अधिकारकर्मी सन्तोषी पाण्डेय लगायतले देशमा शान्ति, अमन चयन कायम गर्न मानव अधिकारर्मीको अहम भूमिका हुनेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका उपाध्यक्ष भूमिराज भट्टराईले स्वागत गरेको अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय प्रमुख बुद्धनारायण साहनीले सहजीकरण गरेका थिए ।
शिवराज नगरपालिकाको सहयोग रहेको कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि, प्रतिष्ठानका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा अतिथिहरुलाई मायाको चिनो र सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७५ आइतबार ००:००  २ : ४९ बजे