५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सुरु भयो स्वास्थ्य बिमा सम्बन्धि सेवा



मायादेवी अनलाइन, वाणगंगा ।
सरकारको राष्ट्रिय कार्यक्रम अनुसार सुरु भएको स्वास्थ्य विमाको सेवा शुभारम्भ हुन थालेको छ । वाणगंगा नगरपालिका २ स्थित पिपरा अस्पतालले एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बिमाको स्वास्थ्य सेवा सुरु गरेको वडा नं २ का वडा अध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।
के हो स्वास्थ्य बिमा ?
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारले एक वर्षमा ५० हजार रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा पाँच जनाको परिवारलाई एक समूहको आधारमा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने नियम रहेको छ । सो रकम तिरेवापत सरकारी स्वास्थ्य संस्थाबाट एक वर्षभरी ५० हजार रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था मिलाइएको छ । प्रत्येक वर्ष स्वास्थ्य बीमा नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरीका
स्वास्थ्य बीमाकार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।
कुनकुन रोगमा निःशुल्क उपचार सेवा ?
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, ईलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, साधारण चिरफार, टा“का लगाउने, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन् स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सिमासम्म निःशुल्क उपचार हुन्छ ।
त्यस्तै, मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुती, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधी, प्रेषण, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मृगौला, स्पाईनल तथा हाड ईन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुन्छ ।
निःशुल्क उपचार नहुने सेवाहरू
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भए पनि धुम्रपान, मध्यपान वा लागू पदार्थ सेवनका कारण भएको दुर्घटना, गर्भपतन सेवा, व्यक्तिगत झैझगडाका कारण भएको चोटपटक, कुत्रिम गर्भधान सेवा, लिङ्ग परिवर्तन सम्बन्धि सेवा, पाँँच सय रुपैयाँ भन्दा बढि मूल्यका चश्मा, सुन्ने यन्त्र र कस्मेटिक सर्जरी सेवा उपलब्ध नहुने जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  ८ : २३ बजे