१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विजयनगर गाउँपालिका माथि सेवाग्राहीको प्रश्नै प्रश्न ?



मायादेवी अनलाइन, चन्द्रौटा ।
विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम हरिबोध प्रा.वि. गुगौलीमा सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७४।०७५ मा संचालित कार्यक्रम, सेवाग्राहीको सन्तुष्टी र गुनासो तथा सेवा प्रवाहका विषयमा जवाफदेही निकाय र सेवाग्राहीबीच सार्वजनिक सुनुवाई गरिएको हो । सेवाग्राहीले विजयनगर गाउँपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, विजुली बत्ती, विकास निर्माण, पारदर्शीता तथा प्रशासनिक कार्यका बारेमा विभिन्न प्रश्न उठाएका थिए ।
कार्यक्रममा सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिदै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले एकवर्षको समयमा स्थानीय सरकारको संरचना व्यवस्थापनमा कठिनाई भएकाले सोचे जति काम गर्न नसकिएको बताउनुभयो । अध्यक्ष थापाले आफुले गाउँपालिकामा पूर्वाधार विकास, सडक, विजुली बत्ती, खानेपानी तथा सरसफाईको क्षेत्रमा योजना बनाएर काम थालनी गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीले सार्वजनिक सुनुवाईले गाउँपालिकाको वास्तविक अवस्थाबारे जानकारी गराएको बताउदै आगामी दिनमा सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउने बताउनुभयो । कार्यक्रममा अपाङ्गताको बजेट, शिक्षा, स्वास्थ्य तथा सरसफाई, बाटोघाटोको समस्या, कृषि तथा सिंचाई, हाटबजार व्यवस्थापन जस्ता विषयमा विजयनगर गाउँपालिकाका विषयगत शाखाका प्रमुखले जवाफ दिएका थिए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारीको संचालन तथा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा मनिष कार्कीले नागरिक प्रतिवेदन तथा वर्हिगमन अभिमतबारे जानकारी गराउनुभएको थियो भने शाखाका कोषाध्यक्ष दिपक खड्काले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, गाउँपालिकाका पदाधिकारी, वडा अध्यक्षहरु, विषयगत कार्यालयका प्रमुख, सुरक्षा तथा सेवाग्राही गरी १ सय ३० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  १ : ४८ बजे