मायादेवी अनलाइन, कपिलवस्तु ।
मुलुकमा गणतन्त्र आएको एक दशक नाघेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपि पूरा हुन बाँकी छन् । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा तीनै तहको निर्वाचन हुनु गणतन्त्रमा भएका सुखद् घटना हुन् । ठूलो संघर्ष र बलिदानको जगमा प्राप्त गणतन्त्र संस्थागत हुने बाटामा छ ।
नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाईले सामान्य नेपालीले गणतन्त्रको अनुभूति गर्न नपाएको बताउँनुहुन्छ । “न्यूनतम भए पनि जनमुखी कार्यक्रम ल्याउनुपर्छ,”, उहाँले भन्नुभयो, “नागरिकलाई गणतन्त्र आएको महसुस गराउनुपर्छ ।” उहाँले उच्च पद, ओहोदा र वर्गका मानिसलाई मात्र गणतन्त्र फलदायी भएको टिप्पणी गर्नुभयो । नागरिकको जीवन व्यवहारमा गणतन्त्र लागू हुन बाँकी नै रहेको उहाँको भनाइ छ ।
नागरिक अगुवा द्रोणराज सुवेदी आशामुखी हुनुहुन्छ । “गणतन्त्रकै कारण आज हामी यो ठाउँ र भूमिकामा छौँ”, उहाँले भन्नुभयो, “गाउँमै बसेर सरकार चलाएका छौँ ।” उहाँ जनताले लडेर ल्याएको गणतन्त्र अहिले फक्रने क्रममा रहेको बताउनुहुन्छ । “बजेट, योजना बनाउने देखि ऐन, कानून बनाउनेसम्म सबै काम स्थानीय तहमै हुन्छन”, उहाँले भन्नुभयो, “गणतन्त्रको यो भन्दा सुन्दर अभ्यास अरु के हुन सक्छ ?” स्रोत, साधन, जनशक्ति अभाव जस्ता कारणले कार्यक्षमता कम भए पनि नागरिकको सेवामा दृढ भएर लाग्ने उहाँको भनाइ छ ।
मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेलले गणतन्त्रमा नागरिक खुशी र सुखी हुनुपर्ने बताउनुभयो । “हामीले गणतन्त्र ल्याएको मुलुकको विकास होस, सबैले न्याय पाऊन, समृद्धि आओस् भनेर हो”,उहाँले भन्नुभयो, “दलहरु सधैँ नागरिकको अभिभावक भएर काम गर्नुपर्छ ।”
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले गणतन्त्रलाई नागरिकको बीचमा स्थापित गर्नुपर्ने बताउनुभयो । “राज्यका तीनै तहमा स्थिर सरकार छ, अहिले काम गर्ने धेरै अवसर छ”, उहाँले भन्नुभयो, “हाम्रा नीति, कार्यक्रम, कार्यशैली सबैमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।” उहाँले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लानुपर्ने बताउनुभयो । अब आर्थिक समृद्धिको युग भएकोले सरकारले यता तर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रिय पूँजीको निर्माण, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र ठूला विकास आयोजना सञ्चालनमा जोड दिइनुपर्छ । स्वाधीन अर्थतन्त्र, रोजगारी सिर्जना र नागरिकका आधारभूत आवश्यकता परिपूर्ति हुन सके परिवर्तनको अनुभूति नागरिकले गर्न सक्नेछन् । कठोर संघर्षको बलबाट निरकुंश राजतन्त्रलाई हटाएर प्राप्त गरेको गणतन्त्रको सुदृढ र संस्थागत विकासमा सबैको योगदानको जरुरी छ । यो खबर जेठ १६ को आर्थिक खबरमा छ ।
प्रतिक्रिया