५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

वाणगंगामा एकिकृत सम्पत्ती कर संकलनको तयारी



हरि अधिकारी, वाणगंगा ।
वाणगंगा नगरपालिकाले आउदो श्रावण १ गतेदेखि नगरपालिकामा एकिकृत सम्पत्ती कर कार्यान्वयनको तयारी गरेको छ । ऐनको प्रावधान अनुसार नयाँ आर्थिक २०७५।०७६ को साउन १ गतेदेखि स्थानीय सरकारले एकिकृत सम्पत्ती कर लगाउने व्यवस्था गरे अनुसार वाणगंगा नगरपालिकाले कर संकलनको तयारी गरेको हो । वाणगंगा नगर कार्यपालिकाको आयोजनामा जनप्रतिनिधी तथा कर्मचारीलाई एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखिकरण गर्दै आवश्यक तयारीको काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थीले राजश्वका श्रोतहरु मध्ये नगरपालिकाको आन्तरिक आम्दानी एकिकृत सम्पत्ती कर, घर बहाल कर, व्यवसाय कर, सेवा शुल्क, दस्तुर, गैर कर लगाएतबाट स्थानीय सरकारले कर संकलन गर्ने बताउनुभयो । उपसचिव पन्थीले वाणगंगा नगरपालिका नयाँ नगरपालिका भएपनि धेरै पुराना नगरपालिका भन्दा विकास र सुशासनका सूचकमा उत्कृष्ट रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले एकिकृत सम्पत्ती करले वाणगंगा नगरपालिकाको विकास र सम्बृद्धिमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, वडा अध्यक्षहरु, शाखा अधिकृत, विषयगत कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५ सोमबार ००:००  १ : ४४ बजे