४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

संबिधानलाई सफल बनाउने कांग्रेसको जिम्मेवारी : नेता थापा



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सरकार ओलीले चलाए पनि संविधान सफल बनाउने जिम्मेवारी कांग्रेसले लिने बताएका छन । बिभिन्न पार्टीहरुलाई एक ठाउँमा ल्याएर कांग्रेस कै नेतृत्वमा संबिधान निर्माण गरिएको भन्दै नेता थापाले संविधान कार्यान्वयन गराउने जिम्मेवारी समेत कांग्रेसले लिने जनाए । नेपाल तरुण दल कपिलवस्तुले शनिबार गोरुसिंगेमा राखेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बर्तमान संबिधानलाई सफल बनाउने कांग्रेसकै दायित्व रहेको दाबी गरे । उनले समाबेशी लोकतन्त्रको संस्थागत गर्ने कार्य ठुलो चुनौतीको बिषय रहेको पनि बताए । ‘फरक जात धर्म भाषालाई मिलाएर लैजानु पर्छ अन्यथा ठुलो दुर्घटना हुन सक्छ’ उनले भने ‘अहिले देशमा यो टड्कारो समस्याका रुपमा देखा परेको छ ।’
समावेशीको नाम जपेर जातजातीको आन्दोलन गराउने माओवादीले हाल आएर कमिष्ट पार्टीको हाइ कमिटी वनाउँदा, महिला, दलित, मधेसी, जनजातीहरुलाई उपहास गरेको तथ्य प्रमाणित भएको समेत थापाले बताए । समाबेशीको बिषयलाई बर्तमान सरकार प्रमुखले समाधान गर्न नसक्ने समेत उनले दाबी गरे । पार्टी एकीकरण पछि प्रधानमन्त्री ओलीमा आफु सर्वशक्तिमान रहेको भन्ने दभ्भ बढ्दै गएको नेता थापाको आरोप छ । अब आउने निर्वाचनमा कांग्रेसले त्यो दभ्भ तोड्ने उनले बताए ।
उनले फरक प्रसंगमा बोल्दै तरुण दलले रोजागरीलाई प्रमुख एजेन्डा बनाएर अघि बढनु पर्ने सुझाव दिए । कांगे्रस केन्द्रिय सदस्य अतहर कमालले बामको उखान टुक्कामा मुलुकको विकास नहुंने दाबी गरे । कांग्रेसको बहुमत नभए पनि कांगे्रसको निति र जनताको मागमा आफूहरु लागि रहेको जनाए । प्रशिक्षण कार्यक्रमलाई जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्य, पुर्व राजदुत दिपकुमार उपाध्यायले समेत बोलेका थिए । प्रशिक्षण कार्यक्रममा ४ सय बढी कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५ आइतबार ००:००  ३ : ५८ बजे