११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

सट सर्किट भई पसलमा आगलागी, दुई करोडको क्षति



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको चन्द्रौटामा आगलागी हुँदा झण्डै दुई करोडको क्षति भएको छ । बिहीबार बिहान झण्डै ३ बजेको समयमा विद्युट सर्किट सट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिहान हावाहुरीसँगै भिषण वर्षा भइरहेको समयमा चन्द्रौटा बजारस्थित रसिद खान (छोटु) को घरमा रहेको पसलमा आगलागी भएको हो । आगलागीबाट सो घरमा रहेका ६ वटा पसल खरानीमा परिणत भएका छन् । दुई वर्षअघि निर्मित उक्त घरमा रहेका पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दूध डेरी, ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंक, शिवराज हेयर कटिङ्ग, र जेडिसी गेमिङ्गका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन् ।
रातको समयमा एक्कासी आगो लागेको थाहा पाएपछि रसिद खानको परिवारले हारगुहार गरेका थिए । विहान ३ बजे लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कृष्णनगरबाट आएको दमकलले दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट पौडेल ब्रदर्सको पसलमा रहेका सिसी क्यामेरा, कम्प्यूटर, फोटोकपी, पार्टपूर्जा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको पौडेल ब्रदर्सका संचालक पदम पौडेलले बताए । यता ऋणधन गरी दूध डेरी संचालन गरेका लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर जनक हमालका अनुसार झण्डै करोड रकम बराबरको इलेक्ट्रोनिक एवं खाद्य सामग्री जलेर नष्ट भएको छ । भने दुई वर्ष अघि निर्मित ४० लाखको घरमा समेत ठूलो क्षति पुगेको घरमालिक रसिद खानको भनाई छ । स्थानीय तहमा दमकल नहुँदा र कृष्णनगरबाट दमकल ढिला आउनाले ठूलो क्षति ब्यहोर्नुपरेको पसल संचालकहरुको गुनासो छ । यति ठूलो क्षति हुँदा आफूहरुको सर्वस्व गुमेको ग्यालेक्सी पानीका संचालक विष्णु हमालको गुनासो छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५ बिहिबार ००:००  ३ : २४ बजे