मायादेवी अनलाइन, तौलिहवा ।
लागु औषध मुद्धा अन्तर्रगत पक्राउ परेका वडा अध्यक्षलाई थुनामुक्तको माग गर्दै जिल्ला प्रशासन घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरी बीच विहिबार दिउँसो झडप भएको छ । झडपमा परि प्रहरी तर्फका तीन र आन्दोलनकारी तर्फका पाँच जना घाइते भएका छन ।
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लुइस पठानलाई लागुऔषध मुद्धा अन्तरगत प्रहरीले बुधबार साँझ अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थिए । जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरि वडा अध्यक्ष पठानलाई प्रहरीले थप अनुसन्धानका लागि थुनामा राखेको छ । वडा अध्यक्षलाई प्रहरीले थुनामा राखेपछि उनका समर्थक आक्रोसित भएका हुन ।
पक्राउ परेका वडा अध्यक्षलाई थुनामुक्त गर्न माग गर्दै यशोधरा गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायको नेतृत्वमा हजार बढी समर्थक जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । आन्दोलनकारीले प्रशासन घेराउ संगै त्यहा रहेका प्रहरी माथि ढुङ्गा तथा इट्टा प्रहार गर्दा प्रहरी निरिक्षक ओम प्रकाश यादव संगै तीन प्रहरी सामान्य घाइते भएका छन । स्थिति अनियन्त्रित भएपछि सहायक प्रजिअ रामेश्वर अर्यालले प्रहरी उपरिक्षक मनोज कुमार यादवलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाएका थिए । छलफलमा आउँदै गरेका प्रहरी उपरिक्षक यादव सवार गाडि माथि पनि आन्दोलनकारीले तोडफोड गर्न थालेपछि यादवले प्रहरीलाई बल प्रयोग गर्न निर्देशन दिएका थिए ।
प्रहरीले स्थितिलाई नियन्त्रण लिन बल प्रयोग गरेपछि भागदौड मच्चिदा बृद्धबृद्धा र महिला सहित पाँच जना सामान्य घाइते भएका छन । उनीहरुलाई जिल्ला अस्पताल तौलिहवामा सामान्य उपचार पछि घर फर्काइएको छ । पक्राउ परेका वडा अध्यक्ष अहिले पनि हिरासतमा रहेका छन भने तोडफोडमा उत्रने चार जना आन्दोलनकारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गत चैत २८ गते मर्यादपुर बजार क्षेत्रबाट २० ग्राम ५ सय ६० मिलिग्राम चरेस सहितको गाडी पक्राउ गरेको थियो । उक्त घटनामा वडा अध्यक्ष पठान संलग्न रहेको आशंकामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएकोछ ।
प्रतिक्रिया