मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिका ४ सिद्धिपुर कपिलवस्तुमा अवस्थित कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको पहिलो साधारण सभा तथा अधिवेशन भएको छ ।
कार्यक्रमको समुद्घाटन गर्दै ५ नं प्रदेशका भुमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री आरती पौडेलले समुदाय स्तरबाट खोलिएको अस्पतालले विरामीहरुलाई राम्रो स्वास्थ्य सेवा दिनु पर्ने बताउनुभयो ।
समुदायको गुणस्तरिय स्वास्थ्य सेवामा अस्पतालले विशेष जोड दिनु पर्ने उहाँले तर्क गर्नुभयो । अस्पताललाई चाहिने थप सहयोग प्रदेश सरकारले गर्ने छ , उहाँले प्रष्ट्याउनुभयो । कार्यक्रममा बोल्दै ५ नं प्रदेश सभा सांसद विष्णु पन्थिले समुदायको सक्रियतामा खोलेको अस्पतालले विरामीहरुलाई राम्रो उपचार दिएकोमा खुशी व्यक्त गर्नु भयो ।
आगामी दिनमा विशेषज्ञ सहितको सेवा दिन अस्पतालले तत्परता देखाओस् सहयोगका लागि प्रदेश सरकार तयार छ, उहाँले भन्नुभयो । समुदायको सक्रियताले नै हरेक कुराको विकास हुने र देशको समृद्धि हुने उहाँले तर्क गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एवं पुर्व लेखा समितिका संयोजक डोर प्रसाद उपाध्यायले अस्पतालको स्तर वृद्धिका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष शंकर पाण्डेले २०६४ सालमा समुदाय स्तर बाट सामाजिक सेवाको भावनाले अस्पतालको शुभारम्भ गरिएको बताउनु भयो । अस्पताल सञ्चालनमा लागि समाजसेवी स्वर्गीय शेर वहादुर क्षेत्रीको अध्यक्षतामा २९ सदस्सीय समिति गठन गरिएको स्मरण गराउदै अस्पतालमा सहयोग जुटाउन २०७० सालमा महायज्ञ समेत गरिएको उहाँले स्पष्ट पार्नु भयो ।
कार्यवाहक अध्यक्ष पाण्डेले प्रगति प्रतिवेदन सहितको आगामी योजना प्रस्तुत गर्नु भएको थियो । समितिका महासचिव कमल आचार्यको सञ्चालन , शिवचन्द्र आचार्यको स्वागतमा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भानु प्रकाश श्रेष्ठ , नेपाली कांग्रेसका जिल्ला सदस्य रबि बहादुर काफ्ले , जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल , वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल , अस्पतालका संरक्षक एवं सिद्धार्थ नगरविकास समितिका अध्यक्ष विष्णु थापा लगायतले सुझाव सहित अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा अस्पताललाई विभिन्न क्षेत्र बाट सहयोग पुर्याउने व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरिएको थियो । अधिवेशनको बन्द सत्रले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको छ । समितिको विद्यान पनि संसोधन सहित पारित भएको समितिका सदस्य द्रोणराज सुबेदीले जानकारी दिनु भयो ।
वर्तमान समिति विघटन गरिए पनि नयाँ नेतृत्व चयन भएको छैन । नयाँ नेतृत्व चयन नहुदा सम्म वर्तमान कार्यसमितिले नै काम गर्न पाउने अधिकार प्रत्यायोजन गरिएको छ । आउने शुक्रवार सम्म समितिको निर्वाचन हुने निर्वाचन समितिका संयोजक ओम प्रकाश अर्यालले बताउनु भयो ।
३० बैशाख २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया